कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको निधन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण कोभिड–१९ बाट हालसम्म २१ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान गुमाउनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा २/२ तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा १/१ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताएका छन् ।

‘अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ ।’ उनले भने, ‘कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।’ शुक्रबार साँझसम्म सुदूरपश्चिममा ९ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ४ सय ४३ संक्रमित निको भएर घर फर्किएका छन् ।

बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । ‘प्रयोगशाला बढाएर संक्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौं ।’ उनले भने ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ । अछाम र कञ्चनपुरमा समेत पिसिआर मेसिन जडानको तयारी रहेको जोशीले बताएका छन् । हाल सुदूरपश्चिममा १ संक्रमितको अति सघन कक्षमा तथा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

३ हजार ५ सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका संक्रमित बढी छन् । रासस

कमेन्टहरु
Loading...