मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिएका छन् । मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए ।
उनी अहिले विराटनगरस्थित निवासमा आइसोलेसनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्यावस्था सामान्य छ ।
२ को निधन
कोरोना संक्रमणबाट विराटनगरमा आज २ जनाको ज्यान भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङ र सुनसरीका १/१ पुरुष र महिलाको उपचारका क्रममा बिहान ज्यान गएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिएका छन् ।
अस्पतालमा बेलबारी नगरपालिका ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी फोक्सो र मिर्गाैलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा ज्यान गएको दाहालले बताएका छन् । रासस