सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना, आइसोलेसन वार्ड अभाव हुने

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ । मंगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो ।

संक्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनकोे भनाइ थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब संकलन गरी विराटनगरमा परीक्षण गर्न पठाउँदा १ वडाध्यक्ष, १ वडासचिव, १ स्वास्थ्यकर्मी, १ व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमितमध्ये १ संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । उनीहरू फरक–फरक स्थानका रहेको र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उनले जानकारी दिएका छन् । यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ वर्षीय १ पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २ सय १७ मजदूरको पिसिआर परीक्षण गर्दा ७ जनामा पोजेटिभ आएको आयोजनाले जनाएको छ । रुम्जाटारस्थित ओखलढुंगा जिल्ला अस्पतालको समन्वयमा स्वाब संकलन गरी परीक्षण गर्न पठाउँदा १ स्थानीय र ६ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो । उनीहरूलाई होटल आइसोलेसनका लागि काठमाण्डौंमा पठाइएको आयोजनाले जनाएको छ ।

छिमेकी जिल्लाको भर

जिल्ला अस्पताल फाप्लुमा स्वाब संकलन गर्ने जनशक्ति नहुँदा छिमेकी जिल्ला ओखलढुंगाको भरपर्नुपर्ने भएकाले तल्लो सोलु हाइड्रोपावरले ओखलढुंगा जिल्ला अस्पतालको समन्वयमा स्वाब संकलन गरी परीक्षणका लागि पठाएको छ । यसअघि रुम्जाटारबाट आएका स्वास्थ्यकर्मीले ५४ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि आयोजनाको काम ठप्प पारेर थप २ सय १७ जनाको परीक्षण गरिएकामा उनीहरूमध्ये मंगलबार ७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

आइसोलेसन वार्ड अभाव हुने

जिल्लामा आइसोलेसन वार्डको अभाव हुने अवस्था सिर्जना भएको छ । प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालमा १० बेडको आइसोलेसन वार्ड निर्माण गरेकामा त्यहाँ ४ संक्रमित राखेर उपचार गराइरहेको र थप ६ जनालाई पनि त्यही राख्दा वार्ड भरिन्छ । नगरप्रमुख शेर्पाले भनेजस्तै परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या थप हुन सक्ने भएकाले आइसोलेसन वार्डको अभाव हुने र त्यसपछिको अवस्था चिन्ताजनक हुने सल्लेरीका शिक्षिका दुर्गालक्ष्मी राईले बताए ।

जिल्लाको ८ वटै स्थानीय तहमा जम्मा आइसोलेसन वार्ड २९ छ तर केहीदिन अघि लिखु हाईड्रोमा काम गर्ने ४७ कामदारमा एकैपटक कोरोना पोजेटिभ देखिएको थियो । यस्तै थुलुङ दूधकोशी र सोलुदूधकण्ड नगरपालिकाका २ जनामा पनि कोरोना पोजेटिभ देखिएकाले उनीहरू अहिले उपचारमा छन् ।

लामो समयसम्म सुरक्षित जिल्लाको सूचिमा रहेको सोलुखुम्बुमा पछिल्लो समय सङक्रमितको संख्या ह्वात्तै बढ्नु खतराको संकेत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासी सन्तोष खत्रीले बताएका छन् ।

पछिल्लो समय जिल्लाको विभिन्न विद्यालय सञ्चालन हुनाका साथै काठमाडौं लगायत ‘रेडजोन’बाट आउनेसमेत खुल्लारूपमा हिड्डुल गर्दा जोखिम बढेको अधिकांशको भनाइ थियो । सुरु चरणको लकडाउनमा घरबाट बाहिर ननिस्केका सोलुखुम्बुवासी असुरक्षित हुनाको कारण काठमाडौं लगायत क्षेत्रबाट आउने नागरिकको उचित व्यवस्थापन नहुनु नै प्रमुख रहेको शिक्षिका राईको भनाइ थियो ।

समन्वय शून्य

बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरू बिना मास्क हिँडिरहनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना भाइरस रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको अर्का स्थानीयवासी भानुभक्त ढुंगानाले बताए ।

थुलुङ दूधकोशी गाउँपालिकाले सम्पूर्ण हाटबजार र सबै कार्यक्रम बन्द गर्ने गराउने निर्णय गरे पनि नगरपालिकाले भने यो समाचार तयार पार्दासम्म आधिकारिकरूपमा निर्णय गरेको छैन । यसै महाकुलुङ गाउँपालिकाले हाटबजार बन्द गरेको छ भने माप्यदूधकोशी गाउँपालिकाले कार्यक्रम आयोजना गर्न नपाउने निर्णय गरेको छ । रासस

कमेन्टहरु
Loading...