पोखरा । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक १५ देखि २० गतेसम्म सरकार विरुद्ध विभिन्न किसिमका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सत्ताको आडमा भ्रष्टाचार गरेको, कोरोना भाइरसको परीक्षण गर्दा समेत शुल्क लिएको तथा नागरिकको स्वास्थ्यमा खेलवाड गरेको भन्दै चन्द नेतृत्वको माओवादीले सरकार विरुद्ध चरणबद्ध रुपमा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
‘वर्तमान राज्य व्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन् पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु दिनप्रतिदिन अझ जटिल र संकटपूर्ण बन्दै गइरहेका छन् ।’ विप्लव नेतृत्वको माओवादीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
आम नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर तथा भ्रष्टाचारीलाई कारवाही गर लगायतका नारा सहित कार्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण तथा २० गते विरोघ जुलुसको आयोजना गरिने भएको छ ।
पार्टीले विभिन्न कठिनाई झल्दै कोरोना महामारीविरुद्ध निरन्तर रुपमा खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
‘हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखेर अग्रमार्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सरसफाइकर्मी लगायतलाई विषेश आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।