पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ । ३ दिनसम्म चल्ने साधारणसभाको १ समारोहकाबीच पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष आचार्यले कृषिजन्य गतिविधिलाई सहकारीमार्फत् सञ्चालन गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए । कोरोना महामारीको विषम परिस्थितिमा नजिकिदै गरेका नेपालीको महान् चाड स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै मनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै साधारणसभाका कार्यक्रम ३ दिवशीय रुपमा गर्न लागिएको बताए । साविक भरतपोखरी गा.वि.स.का वडामा चरणवद्ध रुपमा साधारणसभाका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार सहकारीले लगभग ३ करोड रुपैयाँको कारोबार गरेको छ । सहकारीका सदस्य वसन्तराज लम्सालले सञ्चालन गरेको कार्यक्रममा रामप्रसाद पौडेलले स्वागत गरेका थिए ।