मालश्री धुनमा रम्दै रञ्जन गायक,केहो त मालश्री धुन ?

पोखरा/हिजोको समय थियो । दशैँ भन्ने वित्तिकै मालश्री धुन सम्झने गरिन्थ्यो । तर आजको युवा पुस्तालाई मालश्री धुनको बारेमा सामान्य ज्ञान समेत छैन । दशैँको बेलामा घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म देशका बिभिन्न एफएम स्टेशनहरु र टेलिभिजनहरुमा मालश्री धुन बज्ने गर्छन । त्यो धुन नै मालश्री धुन हो भन्ने कुरा धेरै युवाहरुलाई थाह छैन ।

पोखराका रञ्जन गायकले भने मालश्री धुन सहितको म्युजिक भिडियो सार्वजानिक गरेका छन् । पुराना संकृतिहरुलाई पुर्नताजकी गर्नका लागि मालश्री धुनको म्युजिक भिडियो बजारमा ल्याएको गायक बताउछन् । मालश्री धुनलाई गायकले भने नयाँ तरिकाबाट प्रस्तुत गरेका छन् । नयाँ तरिकाबाट प्रस्तुत गर्दा पुरानो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुने गायकको बिश्वास छ ।

के हो मालश्री धुन ?

करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो मालश्री धुनको उत्पत्ती भएको हो । राजा सिद्धिनर्सिङ्ग मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६ औं शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो । यद्यपी अरु किसिमका धुन खासै सुनिने गरेको छैन । गायक तथा संस्कृतिविद रामकृष्ण दुवाल भन्छन्, “मालश्री धुन भनेको एक अमुर्त कला हो । यो कसैले छुन सक्ने वस्तु हैन । यो समय सूचक, ऋतु सूचक हो ।”

हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दशैंभरी नै मालश्री धुन बजाउने गरिन्थ्यो । नेवार समूुदायले उत्पति गरेको यो धुन अरु राजाको पालामा बज्ने हो कि नबज्ने हो भन्ने चिन्ता थियो तर राजा पृथ्वी नारायण शाह राजा भइसकेपछि उनले यसलाई निरन्तरता दिए । मालश्री धुनलाई निरन्तरता दिनुमा राजा पृथ्वी नारायाण शाहको ठूलो देन रहेको दुवाल बताउँछन् ।

मालश्री धुन आज पनि उत्तिकै प्रिय छ । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नै मालश्री धुन सुन्न सकिन्छ । साढे चार सय वर्षदेखि सुनिदै र बजाइदैै आएको यो धुनले अहिलेसम्म निरन्तरता पाइरहेको छ । तर आउने पुस्ताले यसको महत्व बुझ्ने हो कि हैन भन्ने चिन्ता रहेको दुवाल बताउँछन् ।

धेरैले यो धुनलाई भारतको भातखण्ड शास्त्रीय संगीतबाट आएको भन्छन् । तर यो धुनको आफ्नै मौलिकता छ । यो धुन भारतको भातखण्डबाट नभई पूर्ण रुपमा नेपालमै सिर्जना भएको दुवालको दाबी छ । यो धुनमा सप्त मात्रिकाको गुणगान छ । मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मानिने चाडलाई संकेत गर्छ । मालश्री धुन नेपालीहरुकै पहिचान हो ।

दशैं अवधिभर यो धुन विभिन्न वाद्यवाधनमा सुन्न पाइन्छ । मालश्रीको सरगमलाई धुनमा मात्रै नभएर गायनमा पनि प्रस्तुत गरिने गरेको छ ।

मालश्री धुनको सन्दर्भ सामाग्री बाह्रखरी डटकमको रुमु न्यौपानेको आलेखबाट साभार गरिएको हो ।

कमेन्टहरु
Loading...