स्वास्थ्य मन्त्रालयको निर्णयसंगै अस्पतालले कोरोना संक्रमितको उपचारका लागि शुल्क माग्न थाले

पोखरा । कोरोना भाइरस संक्रमणको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्त प्रा.डा जागेश्वर गौतमले हिजो आइतबार जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विपन्न तथा असहाय, कोरोना संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी तथा सरसफाइकर्मीको मात्र निशुल्क उपचार गर्ने बताए ।
अन्य व्यक्तिले नै परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने उनको भनाई थियो ।

इन्सोरेन्स गरेकाको भने सोही इन्सोरेन्सबाट उपचार हुने उनले बताएका थिए । निर्णयसंगै अहिले सरकारले नागरिकको जिम्मेवारी उठाउनुपर्नेमा झन् महामारी फैलिदै गएको अवस्थामा जिम्मेवारीबाट हात झिकेको भन्दै आलोचना भइरहेको छ ।

केही अस्पतालले भने डा.गौतमको यो भनाई आएसंगै लागु समेत गरेका छन् । यस्तैमा काठमाडौंको सिभिल अस्पतालले कोरोना भाइरस संक्रमितहरुको उपचार निशुल्क रुपमा गर्न नसकिने भन्दै सुचना नै प्रकाशित गरेर जानकारी गराएको छ । अस्पताल प्रशासनले सरकारको निर्णय अनुसार कोरोना भाइरस संक्रमितले आइतबारबाट नै लागु हुने गरेर उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नुपर्ने बताएको हो ।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरुले मिति २०७७ कार्तिक २ गतेबाट लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयमले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’ अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्याहोरा जानकारी गराइन्छ ।’

कमेन्टहरु
Loading...