४५ वर्षपछि महावीर पुनको आङमा नयाँ कोट पाइन्ट

गन्थन डेस्क

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यसपटकको दशैंमा नयाँ कोट, पाइन्टको सुट लगाएका छन् । तर यो सुट उनी आफैले किनेका भने होइनन् । कसैले दिएका हुन् ।

 

देश विदेशमा हुने औपचारिक कार्यक्रममा प्रायः टी–सर्ट (गञ्जी), हाफ पाइन्ट (कट्टु) र चप्पल वा सामान्य जुत्तामा देखिने पुन यसपटक सुटमा देखिएका छन् । उनले सुट लगाएको फोटो सामाजिक सञ्जालमा राख्दै भनेका छन् ‘४५ वर्षपछि मेरो शरीरमा यसपाली नयाँ सुट परेको छ । सम्भवतः कुनै शुभचिन्तकले दशैंमा पुनलाई सुट गिफ्ट गरेका हुन् ।

 

अझ रमाइलो कुरा त उनले उक्त सुटसँगै फोटो खिचाएर केन्द्रको पेजमार्फत शेयर गर्दै अन्तीम लाइनमा भनेका छन्, ‘कहिले काहीँ त गल्लीको कुकुरको पनि दिन आउँदो रहेछ ।’

 

उनले यो नयाँ कपडा कहाँबाट आयो भनि नसोध्नु होला भन्दै यसको उत्तर केही समयपछि दिने स्टाटसमा बताएका छन् ।

 

म्यागसेसे पुरस्कार विजेता महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र अनुसन्धानमूलक काममा २४ सै घण्टा खटिइरहेको छ ।

 

सार्वजनिकस्थल, सार्वजनिक सवारीसाधनलाई ब्याक्टेरियारहित बनाउने सामग्री, बैंकमा रहेको पैसालाई निर्मलीकरण गर्नेलगायतका काम केन्द्रमा भइरहेको छ । यसअघि अस्पतालमा प्रयोग गरिएका रोबोटलाई पनि थप परिष्कृत गर्न जुटिरहेको पुनले उल्लेख गरे । केन्द्रमा N 95 मास्कमा प्रयाेग हुने फिल्टरसमेत बनाइँदैछ ।

 

विज्ञान र इञ्जिनियरिङ् क्षेत्रमा खोज र अनुसन्धान गर्न रुचाउने युवाहरु पछिल्लो समय केन्द्रमा स्वयंसेवीकारुपमा कार्यरत छन् । केन्द्रमा रहेका स्वयंसेवीहरु तालिकाअनुसार रातैभर काममा व्यस्त हुन्छन् । उनीहरुले खानपानको व्यवस्थासमेत केन्द्रमै गरेका छन् । कोही भात पकाउँदै गर्दा अन्य काममा निरन्तर हुन्छन् ।

 

केन्द्रको अनुसन्धानमूलक र आविष्कारलाई सुरुवाति दिनदेखि नै देश विदेशबाट विभिन्न व्यक्ति र संस्थाले आर्थिकलगायत सहयोग गर्दै आएका छन् । सहयोगको सम्पूर्ण हिसाबकिताब सुरक्षित रहेको र समयसमयमा सार्वजनिक सञ्जालमार्फत विवरण देखाउँदै आइएको छ ।

 

 

पुनकाे स्टाटसः

लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला 😂😂😂🤣🤣🤣😅😅🤡🤡🤡

 

 

कमेन्टहरु
Loading...