ओखलढुंगा । ओखलढुंगा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुंगाका २ सहित ५ जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा २० च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका छन् । उनका अनुसार ज्यान गुमाउनेमध्ये ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी २ पुरुष र १ महिलाको पहिचान खुलेको छैन ।
रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य ३ जना मृतक पनि ओखलढुंगाकै हुन सक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ ।
गाडी सडकबाट करिब १ किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दसैं मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ । रासस