चितवनमा वडा सदस्यको कोरोना संक्रमणका कारण निधन

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी क्यान्सर रोगबाट समेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति ज्यान गएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो ।

आइसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा ज्यान गएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । उनी नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । रासस

कमेन्टहरु
Loading...