विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।
निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएकोमा अशोज २६ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीमा अरु कुनै दीर्घ रोग नरहेको अस्पतालले जनाएको छ ।
यससँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा बुधबार कोरोना भाइरस कोभिड १९ का ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो।
जसमा सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलामममा समान १ र प्रदेश १ बाहिरबाट ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । धरान उपमहानगरपालिकामा बुधबार ४९ महिला र ६५ पुरुषसँगै १ सय १४ जनामा संक्रमण देखिएको थियो ।