पोखरा । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेसंगै पार्टीका कार्यकर्ताहरुबाटै आलोचना सुरु भएको छ ।
कोरोना महामारीका कारण धरासायी बनेको देशको अर्थतन्त्रलाई उकास्नुपर्ने समयमा विज्ञ अर्थमन्त्री युवराज खतिवडालाई हटाएर पौडेल अर्थमन्त्री बनेपछि कार्यकर्ता तहबाटै पार्टी नेतृत्वको समेत आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा पौडेलको योग्यताबारे प्रश्न उठ्न थालेको छ । कतिपयले राजनीतिक दाउपेच र लोभमा पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको तर्क गरिरहेका छन् भने प्रदेश ५ को राजधानीसंग मन्त्री पद साटफेर गरेको भन्ने आरोप पनि थपिएको छ ।
पौडेललाई मन्त्री बनाएपछि बालुवाटार काण्डमा दोषीलाई जिम्मेवारी दिइएको भन्दै आलोचना समेत गरेका छन् । बालुवाटारको ललिता निवास प्रकरणमा पौेडल मुछिएका थिए ।
डा.युवराज खतिवडाको बर्हिगमनपछि बामदेव गौतम अर्थमन्त्रीको दावेदारी दिइरहेका थिए । उनलाई अदालतले रोक्यो । त्यसपछि अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको चर्चा थियो । तर प्रधानमन्त्रीले अर्थमन्त्रीबाट विदाइ भए लगत्तै डा युवराज खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरे । जसबाट आफ्नो मातहातमै अर्थ मन्त्रालय राख्न चाहेको सन्देश दिएका थिए । तर पार्टी भित्र फरक विचार राख्ने समुहले तिव्र आलोचनापछि अमेरिकी राजदुतको रुपमा खतिवडालाई जिम्मेवारी तोकियो ।
डा.खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेयता नेपालको अर्थतन्त्रमा ६.८ प्रतिशतको वृद्धि भएको थियो । पछिल्लो समय सुध्रिदै गएको अर्थतन्त्र कोरोनाको पछिको लकडाउनले गम्भीर असर पारेको छ । भने विदेशमा रहेको नेपालीले रोजगारी गुमाउनु पर्ने अवस्थाको श्रृजना भएको छ ।
यस्तो परिस्थितीमा प्राविधिक रुपमा विज्ञको ठाउँमा पौडेलले अर्थमन्त्रालय सम्हाल्न पुग्दा अबको अर्थतन्त्रको अवस्थाबारे चिन्ता बढ्नु स्वभाविक देखिन्छ ।