दिपक के श्रेष्ठ
गत सोमबार पोखराको औद्योगिक क्षेत्रस्थित खसीबजारबाट जग्गा उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने ८ जना पक्राउ परे । कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि उक्त गिरोहको अपराध स्थानीय प्रशासन र सरकारलाई नै चकित पार्ने खालको थियो ।
अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग नै खडा गरेर उनीहरुले धन्दा चलाउँदै आएका थिए । सरकारको समानान्तर निकाय चलाएर गिरोहले पोखरामा बस्दै आएका निम्न वर्गलाई तारो बनाउँदै उनीहरुलाई ३ सय रोपनी जग्गा दामासाहीले वितरण गर्ने भन्दै नगद उठाउँदै आएका थिए । उनीहरुबाट जग्गा पाउने लालसामा परेकाहरु प्रायः दैनिक मजदुरी गर्ने वा हातमुख जोर्न सानोतिनो व्यवसाय गर्नेहरु छन् ।
नक्कली आयोगमार्फत ठगीमा पर्नेहरुमध्येका एक प्रतिनिधि पात्र हुन्, सुनिता श्रेष्ठ । दोलखाको मेलुङ गाउँपालिका स्थायी ठेगाना भएकी सुनितालाई ५ वर्ष अघिको महाभूकम्पले थातथलो छाड्न बाध्य बनायो । छाक टार्ने समस्यासँग जुध्न सुनिताको परिवारै पोखरा हानियो । उनीहरु चाउथे पुगे । स्थानीयको जमिनमा खेतिकर्ममा लागे । केही समयपछि सुनिताले सिलाइको काम थालिन् ।
चाउथेचोकमा उनी सिलाई कर्ममा लागिरहँदा उनका श्रीमान् कृषिकर्ममै थिए । गत साउनमा केही मान्छे आएर उनीहरुको हालखबर सोधे । सुनिताको श्रीमान्ले दुख र कर्मको पेटारो खोलेपछि उनीहरुले भूकम्पीडितलाई सरकारले पोखराको भोटेचौतारामा ३ सय रोपनी जमिन बाँड्ने तयारी गरिरहेको सुनाए । त्यतिमात्र हैन, उनीहरुले सुकुम्बासी समस्या समाधान आयोग काठमाण्डौंको गण्डकी प्रदेशस्थित कर्मचारी भएको सुनाए ।
‘आयोगका कर्मचारी हुँ’ भन्नेहरुले तथ्यांक संकलन भइरहेको र सुनिताको परिवारले पनि जग्गा र घर पाउने भनेपछि उनीहरुले मनमनै सरकार र आयोगका पदाधिकारीलाई धन्यवाद दिए । गिरोहका सदस्यले दर्ता फाराम भर्न २ हजार रुपैयाँ लाग्ने बताए । सुनिताले भूकम्पबाट पीडित भएका अन्य २ परिवारसमेत सँगै रहेको जानकारी दिइन् । गिरोहका सदस्यले तीन परिवारकै नाम दर्ता गरिदिने बताएपछि उनीहरुले ६ हजार रुपैयाँ बुझाएर रसिद लिए ।
यसरी सुनितासँगै गिरोहका फन्दामा सरु जोशी र टंकबहादुर श्रेष्ठसमेत फँसे । उनीहरु स्थायी ठेगाना एउटैमात्र हैन नातामासमेत आफन्त पर्छन् । ‘नयाँ ठाउँमा आफु पालिन र छोराछोरी पाल्न बुढाबुढी हाड घोटिरहेका थियौं, सुनिता भन्छिन् ‘आफन्तहरुको पनि दुख उस्तै थियो ।’ राहत पाउने आशामा सबै ठगिएको उनको गुनासो छ ।
गिरोहले साउनमा प्रत्येक परिवारसँग २ हजार रुपैयाँका दरले उठाएपछि उनीहरुले खसीबजारमा भेला गरेर कार्यप्रगति सुनाउँथे । सरुको भनाइअनुसार करिब २३ जनासँग त्यतिबेलै पैसा उठाएका थिए । त्यसपछि गिरोहले पुसबाट ३ कोठे घर बनाएर हस्तान्तरण गर्ने प्रक्रिया पुरा भएको बताए । गत २५ गते सबैलाई भेला पारेर अमिनमार्फत जग्गा नाप्ने काम भइरहेको र घर बनेपछि मन्त्रीमार्फत उद्घाटन गरी हस्तान्तरण गर्ने जानकारी दिए ।
उक्त दिन गिरोहले सबैबाट जनही ७ हजार रुपैयाँ संकलन ग¥यो । सुनिता, सरु र टंकले सरसापट गरेर २१ हजार रुपैयाँ खसीबजारमा बुझाए । त्यस दिन गिरोहका हिरा तामाङले सबैलाई भाषण सुनाउँदै रकम जम्मा गर्न भनेका थिए । घर हस्तान्तरण भएपछि किस्ताबन्दीमा कूल १ लाख ९० हजार रुपैयाँ बुझाउनु पर्ने गिरोहले जनाएको थियो । त्यहाँ करिब ४५ जना सहभागी थिए । जसबाट गिरोहले पैसा उठाएको थियो ।
बिहान काम गरेर बेलुकाको छान टार्ने हैसियत भएका सुनिता र आफन्तहरुले आयोगको वैधानिक पक्षबारे बुझ्ने वा कसैलाई सोधपुछ गर्नेतर्फ ध्यानै दिएनन् । गिरोहले पनि उनीहरुलाई यताउता कुरा गरे सुकुम्बासीको संख्या बढ्ने र घरजग्गा पाउन मुस्किल हुने डर देखाएका थिए । खसीबजारको भेलामा नागरिकताको २ प्रति फोटोकपी, फोटो र पैसा बुझाएपछि सुनिताहरुको समूह अब थप १ लाख ९० हजार रुपैयाँ कसरी जुटाउने भन्ने चिन्तामा थिए ।
यतिकैमा, २६ गते सोमबार तीनैजनाको मोबाइलमा पालैपालो घण्टी बज्यो । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई नक्कली गिरोहबाट ठगिएको र रसिद लिएर आउन भनेपछि सुनिताको समूह छाँगाबाट खसे झैं भए । हतारिएर जिप्रका आएका उनीहरुले आफुलाई ठग्ने समूहलाई केही परबाट देखे । र, रसिद बुझाएर फर्किए ।
‘न घरजग्गा पाउने लोभ थियो, न त हामीले दुख देखाउँदै हिँडेका थियौ’ सरु भन्छिन् ‘सरकार र आयोगकै मान्छे हौ भन्दै आएपछि हामीले ओत लाग्ने ठाउँ पाउने भयौ भनेर सापटी खोजेर पैसा बुझायौं ।’ ठगहरुलाई कारवाही गरेर हाम्रो पैसा छिट्टै फर्काइदिए हुन्थ्यो भन्ने सरुको चाहना छ । ठगिनेहरु प्रायः खसिबजार आसपास र खाल्टेमसिनामा किसानी, मजदुरी गर्ने रहेको उनीहरुले बताए ।
झट्ट सुन्दा ९ हजार रुपैयाँ कुनै मदिराप्रेमीका लागि एक छाक सितनको खर्च हो । तर, सुनिता र उनका आफन्तलाई यो रिन खोजेर ल्याएको पैसा हो । कोरोना कहरबीच थपिएको रिनले उनीहरुको जीवनचक्र खल्बल्याइदिन सक्ने तागत राख्छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले उक्त गिरोहबाट ठगिएको भन्दै ५१ जना सम्पर्कमा आएका छन् । पीडितहरुको तथ्यांक संकलन भइरहेको र थप अनुसन्धान जारी रहेको हमालले जनाए । पीडितहरुको रसिदको आधारमा रकम फिर्ता हुनसक्ने भन्दै अदालतको फैसलाको आधारमा भुक्तानी दिइने उनले जानकारी दिए ।
नक्कली आयोग खडा गरी ठगी गर्ने गिरोहअन्तरगत पक्राउ पर्नेमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ सिरिङ घर भइ हाल पोखरा ५ पस्र्याङ बस्ने ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगंगा गाउँपालिका ४ राफु घर भइ पोखरा १४ कुँडहर बस्ने ३० वर्षीय रमेशकुमार परियार, रुपन्देहीको साविक सैनामैना नगरपालिका वडा नम्बर ९ बाँसगढी घर भइ हाल पोखरा १४ चाउथे बस्ने ३५ वर्षीय ओमबहादुर सुनार छन् ।
त्यस्तै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ एक्ले गाउँ घर भइ पोखरा १३ का बस्दै आएकी ३७ वर्षीय रिता विश्वकर्मा, पोखरा १७ चोरसाघुकी २२ वर्षीय सानु परियार, पोखरा १३ बाँझापाटनकी २७ वर्षीय सीता सुनार, पोखरा १३ मियाँपाटनका ५० वर्षीय हर्कबहादुर विक तथा सोही स्थानका २४ वर्षीय मौसम सदाशंकर पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ ९१० बमोजिम नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ बमोजिम मुद्धा दताए गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
पोखरामा झुठो विवरण देखाई ठगी गर्ने ८ जना पक्राउ