महोत्तरीमा ८ सञ्चारकर्मीलाई कोभिड–१९ पुष्टि

महोत्तरी । महोत्तरीमा कोभिड–१९ संक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या ८ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि यो संख्या ८ पुगेको हो । यसअघि नै ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलंगेले आपूmमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका छन् । ४ दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिएका छन् । सम्बन्धित चारैजना आफैंले यसको पुष्टि गरेका छन् ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा रहेका छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो ।

यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन् । महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए ।

महोत्तरीमा पछिल्लोपटक १ जना नगरप्रमुखमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार अबेर राति कोभिड–१९ संक्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैंले सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । महोत्तरीमा हालसम्म १ हजार ६ सय ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको कोभिड–१९ संक्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । रासस

कमेन्टहरु
Loading...