दिपक के श्रेष्ठ
गण्डकी प्रदेश सभा सांसद राजीव पहारीले कोरोनाका कारण व्यवसायीहरुले भोग्नु परेको पीडाकाबीच बैंकहरुले साँवा ब्याज उठाउन तारान्तार गरेको फोनले झनै आहत भएको बताएका छन् ।
प्रदेश सभाको चालु वर्षे अधिवेशनमा सोमबार विशेष समय लिएर बोल्दै सांसद पहारीले व्यवसायीमाथि परेकोे मर्का संसदमा सुनाए । व्यवसायीमध्ये पनि पर्यटन क्षेत्रमा लगानी गरेका उद्यमी बढी मारमा परेको भन्दै उनले सरकारले तत्काल राहतको प्याकेज ल्याउनु अनिवार्य भएको उल्लेख गरे । सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीलाई बचाउन सक्ने भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै उनले रोष प्रकट गरे ।
‘नीति र कानून राम्रो आयो तर कार्यान्वयन पक्ष फितलो भएको छ’ उनले भने ‘मौद्रिक नीति प्रभावकारी हुन सकेन भने व्यवसाय र व्यवसायीलाई बचाउँन सकिँदैन ।’ प्रदेश सरकारले संघ र राष्ट्र बैंकसँग आवश्यक पहल गरी व्यवसायीको हितमा लाग्न उनले अनुरोधसमेत गरे ।
त्यस्तै, पृथ्वीनारायण क्याम्पसमा समान कामको समान ज्याला माग गर्दै आंशिक प्राध्यापाकले गरेको आन्दोलनमा समर्थन जनाउँदै उनीहरुको समस्या समाधान तुरुन्त गर्न उनको आग्रह छ । ‘आंशिक प्राध्यापकहरुसँग यसअघि विभिन्न समयमा विभिन्न प्रधानमन्त्री र विश्वविद्यालयले गरेको सम्झौता कार्यान्वयन गरियोस्’ उनले भने ‘म प्रदेश सरकारसँग यो समस्या समाधान गरी आंशिक प्राध्यापकहरुलाई न्याय दिलाउन पहल गरियोस् ।’ उनले गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवासँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने आवाज उठाए ।
देशकै ठूलो क्याम्पसमा अध्यापनरत जनशक्ति १५ वर्षसम्म ज्यालादारी भइरहनु र उनैले क्याम्पसको ७० प्रतिशत कक्षाभार लिनु सरकारलाई लज्जाको विषय भएको उल्लेख गरे । आंशिकहरुको समस्या समाधान नगरे पृथ्वीनारायण क्याम्पसको भविष्य नै अँध्यारोतर्फ धकेलिने उनको धारणा थियो । यसैगरी, चाडवाड नजिकिँदै जाँदा बजारमा कृतिम अभाव खडा गर्ने, मुल्यवृद्धि गर्ने र कालाबजारी गर्नेको पहिचान गरी कार्वाही गर्नुपर्ने माग राखे ।
प्रदेशको चालु बर्खे अधिवेशन आज मध्यरातबाट अन्त्य हुनेछ ।