दिपक के श्रेष्ठ
शनिबार अपरान्हतिर सामाजिक सञ्जालमा पोखरा महानगरपालिका ११ काहुँडाँडास्थित काहुँ धरहराको तस्बिरले निकै चर्चा पायो । सामाजिक सञ्जाल प्रयोगकर्ता ध्रुव केसीले फेसबुकमा काहुँ धरहराको केही तस्बिर पोष्ट्याएका थिए ।
तस्बिरका क्याप्सनमा उनले पहिलेः काहुँ धरहरा, अहिलेः जस्मिन पेन्ट्स भनेर लेखेका थिए । उनले तस्बिर राखेलगत्तै विभिन्न कमेन्ट आए । जसमा धरहराको शानलाई पेन्ट्सले व्यावसायिकरुपमा दुरुपयोग गरेको आशय लेखिएका थिए । धरहराको तस्बिर हेर्दा त्यसलाई छायाँमा पार्ने गरेर जस्मिन पेन्ट्सले ठूलो अक्षरमा आफ्नो नाम राखेर प्रचार गरेको थियो । जस्मिन पेन्ट्सको त्यस्तो कार्यलाई धरहराको उँचाई घटाएको थियो भने पेन्ट्सको हैसियत बढाएको थियो ।
उक्त तस्बिरमा कमेन्ट गर्दै संस्कृतिविद् तीर्थ श्रेष्ठले ‘साह्रै लज्जास्पद ! रंग पोतेर धरहरा किनेजस्तो ! लेख्ने कति लोभी ? लेख्न दिने कति बुद्धिहीन’ भनेर कमेन्ट गरेका छन् । श्रेष्ठ संस्कृतिवीद् भएको नाताले पनि उनको भनाई सान्दर्भिक र सोचनीय छ । लगत्तै फोटो पत्रकार सुदर्शन रञ्जितले ‘यति रंगाउने पैसा पनि रहेनछ, महोत्सव गरेको पैसा कता राखेछन् ?’ भनि प्रश्न गरेका छन् ।
हामीले यही प्रश्न र जिज्ञाशा वडा नं. ११ का सदस्य मीनबहादुर गुरुङलाई राख्यौ । उनको जवाफ छ, ‘धरहरा रंगाउने काम जस्मिन पेन्ट्सले गरेको हो, उसले पैसा नलिइकन आफ्नो नाम राख्ने शर्तमा काम गरिदिएको हो ।’ रंगरोगन गरेपछि भने जस्मिनले शर्तविपरित ठूलो अक्षरमा नाम लेखेको उनले बताए । ‘हामीले सानो अक्षरमा नाम लेख्न भनेका थियौं’ उनले भने ‘तर सम्झौता विपरित प्रवेशद्वारमाथि १० इञ्चभन्दा ठूलो अक्षरले लेखेको हुनाले हटाउन लगाएका छौं ।’
सदस्य गुरुङले धरहरा रंगाउन जस्मिनले साढे ३ लाख खर्चेको बताएका छन् । यद्यपि, त्यत्रो रकम खर्च भएको मान्न नसिकने उनको ठम्याई छ । आफुले र धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले आपत्ति जनाएपछि प्रवेशद्वारमाथि लेखिएको कम्पनीको नाम हटाइएको छ भने दायाँ, बायाँ लेखिएको पेन्ट्सको नाम यथावत राखिएको छ ।
काहुँडाँडामा पर्यटक भित्र्याउने उद्देश्यले वि. सं. २०२६ सालमा धरहरा निर्माण गरिएको थियो । समुन्द्री सतहबाट १ हजार ४४३ मिटरको उँचाइमा रहेको काहुँबाट उत्तरतर्फ रहेका माछापुच्छ्रे, अन्नपूर्ण श्रृंखला र धवलागिरिलगायतका हिमाल देख्न सकिन्छ । वडा नम्बर १८ मा पर्ने सराङकोट जत्तिकै आकर्षकस्थल भएपनि काँहुडाँडाले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन ।
पछिल्लो समय मेला, महोत्सवको आयोजना र धर्मकाया बुद्धमण्डललगायतको निर्माणसँगै काहुँवासीमा केही आशा पलाएको छ । बाइसे, चौबीसे राज्यकालमा काहुँडाँडा घले राजाको राज्य रहेकाले यस स्थानको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको स्थानीय बताउँछन् ।
तस्बिरः ध्रुब केसी