गन्थन डेस्क
कास्कीको उत्तरी भेगमा पर्ने घलेलमा रहेको पोखरा क्यानोनिङ शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।
चैत १० गतेदेखि सुरु भएको लकडाउनपछि बन्द रहेको क्यानोनिङ अन्ततः सञ्चालनमा आएको हो । आन्तरीक र बाह्य पर्यटककालागि साहसिक गन्तव्यकारुपमा रहेको क्यानोनिङ सुरक्षाको सम्पूर्ण प्रबन्धसहित सञ्चालनमा ल्याएको सञ्चालक राम गुरुङले जनाएका छन् । ‘पर्यटन उद्योग सबै ठप्प रहे, उनीहरुलाई लक्षित गरी खुलाइएका व्यवसायका हालत उस्तै छ’ सञ्चालक गुरुङले भने ‘क्यानोनिङ साहसिक खेल र घलेल क्षेत्र आन्तरीक पर्यटकले रुचाएको गन्तव्य भएकाले पुनः सुरु गरिएको हो ।’
सञ्चालक गुरुङका अनुसार क्यानोनिङमा आवश्यक पर्ने सतर्कता अपनाइएको छ । त्यसैगरी, सरकारले निर्देशन दिए अनुरुपको स्वास्थ्य प्रोटोकललाई पालना गरी पर्यटकलाई सुरक्षित राख्ने प्रयास गरिएको छ । ‘यहाँ आउनुहुने पर्यटकलाई मास्क अनिवार्य गरिएको छ भने निजी प्रयोग गर्ने सामग्री पनि ल्याउन अनुरोध गरिन्छ’ गुरुङले भने ।
त्यस्तै, उनले ‘सम्पूर्ण आन्तरीक पर्यटकलाई निम्तो छ’ भन्दै स्वागतको पर्खाइमा रहेको जनाए । पोखराको हेमजा मिलनचोक हुँदै उत्तर पूर्वमा रहेको घलेल पुग्न करिब १४ किलोमिटरको यात्रा तय गनुपर्छ । समूहमा क्यानोनिङ गर्न चाहनेलाई यातायातको व्यवस्था रहेको उनले जानकारी दिए ।