नेपालमा कोरोना संक्रमणको दर हरेक दिन बढ्दै, आजै ४३ सय ६४ जनालाई पुष्टि, थप १२ जनाको मृत्यु

पोखरा । नेपालमा थप ४ हजार ३ सय ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ४ हजार ३ सय ६४ जजनालाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ । हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ६५ जना कोरोना भाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुलल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

नेपालमा हाल २ सय ६५ जनाको आइसियु तथा ४२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना संक्रमित जिल्ला नेपालमा मुक्त मनाङ तथा मुस्ताङ मात्र रहेका छन् । त्यस्तै मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही तथा सुर्खेत ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्ला हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जसमा ४ जना महिला तथा ८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौंकी ७९ वर्षीय, ललितपुरकी ७३ वर्षीय, भक्तपुरकी ८२ वर्षीय तथा सुर्खेतकी ८२ वर्षीय महिला रहेकी छिन् ।

त्यस्तै सुनसरीका ३९ वर्षीय तथा धनुषाका ७० वर्षीय पुरुषले ज्यान गुमाएका छन् । यसैगरी काठमाडौंका ५८ तथा ९१ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । यता चितवनका ८१ वर्षीय २ जना तथा ९२ वर्षीय पुरुषले समेत कोरोनाबाट ज्यान गुमाएका छन् ।

कास्कीका ८३ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ ।

यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ९० पुगेको छ ।

कमेन्टहरु
Loading...