आज सचिवालय बैठकबाट बाहिरिने र भित्रिने मन्त्रीहरुको सम्भावित नाम यस्तो छ

दिपक के श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक हाल बसिरहेको छ । २ पटक सरेपछि आज बसेको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र हाल देखिएको मन्त्रीमण्डलको गाँठो फुकाउने आँकलन गरिएको छ । त्यस्तै, खाली रहेका मन्त्रालयमा नयाँ मन्त्री थप्ने कामलाई पूर्णता दिन पनि आजको नयाँ नामहरु सिफारिश हुनेछन् ।

विशेषतः पार्टी अध्यक्षद्वय ३ मन्त्री थप्ने तयारीमा रहेको बताइएको छ । अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरेपछि रिक्त रहेको मन्त्रालय सम्हाल्न नयाँ मन्त्रीको नाम तय हुनेछ । यस्तै, नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल नथपिनु र खतिवडालाई पुनः अर्काे अवसर दिइएको विषयले पाएको चर्चा र आलोचनाउपर बैठक केन्द्रित हुनेछ ।

यही बैठकले मन्त्रालय पूनःगठन हुने भनि वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठले मन्त्रीबाट बाहिरिने र भित्रिने केही सम्भावित नामहरु सार्वजनिक गरेका छन् । विशेष स्रोतलाई उद्धृत गरिएको उक्त सम्भावनालाई श्रेष्ठले फेसबुक स्टाटसमा राखेका छन् ।

उनले सोमबार राखेको स्टाटस यस्तो छः

Kishor Shrestha

भोलि दिउँसो ४ बजे नेकपा सचिवालयको बैठक बोलाइएको छ । भोलि नै क्याबिनेट हेरफेर भन्दा पनि रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ । सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो ।
उच्च स्रोतका अनुसार भोलि साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेलको नाम पक्का छ । सम्भवतःअर्थ मन्त्रीमा पौडेल र सञ्चार या शहरी बिकास मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।
शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिनुभएको छ ।
पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु (रुपन्देही र रुकुमे) बिष्णु र जनार्दनले भोलि थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।
बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ ।
पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।
यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गर्नुभएको बताइन्छ । वहाँले पटकपटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझीलाई बनाउनुपर्यो । लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो । अनि प्रभु साहलाई पनि बनाउनु पर्यो । बरु,अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम्’ भनेर धेरैपटक नामै तोक्नुभएको स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नामसमेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा देखिनुभएको बताइन्छ । पाठ्यक्रम र उपकुलपति नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए ।
तर, उपकुलपति नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहेबमोजिम गरिएको बताइन्छ । उपकुलपति नियुक्तिमा पोखरेलले गरेको सिफारिशलाई बालुवाटारले कुनै भाउ नदिएको स्रोतको दाबी छ । त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् ।
यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक हुनुभएको स्रोत बताउँछ । यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो मिलाइसकेको स्रोतको दाबी छ ।
तर,पूर्व एमालेतर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिनुभएको छैन । आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिनुभएको छ । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिन्छ ।
कमेन्टहरु
Loading...