पोखरा । नेपालमा थप २ हजार २ सय ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप २ हजार २ सय ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । हाल नेपालमा २२ हजार २ सय १९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यो अवधीमा नेपालमा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १ हजार ३ सय २९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६४ हजार ६९ जना पुगेको छ ।
हाल नेपालमा २ सय २६ जनाको आइसियुमा तथा ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ तथा डोल्पा कोरोना संक्रमितमुक्त जिल्ला हुन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप ७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ४ महिला तथा ३ जना पुरुष रहेका छन् । पछिल्लो पटक मकवानपुरकी ५ दिनकी नवजात शिशु सहित चितवनका ५५ वर्षीय, बाँकेकी २५ वर्षीय तथा कञ्चनपुरकी २९ वर्षीय महिलाको ज्यान गएको छ ।
त्यस्तै काठमाडौंका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय, बाँकेका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गएको छ ।