काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा हालसम्म १८ देशका २ सय ६६ नेपालीको ज्यान गएको छ ।
यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको एनआरएन कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।
यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित तथा ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।
संघको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । डा सापकोटाले कोरोना संक्रमणबाट बच्ने १ मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । रासस