लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना सहीत कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ ।
समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गर्नुभएको छ ।