पोखरा । चितवनमा कोरोना भाइरस संक्रमणबाट १ जना पुरुषको ज्यान गएको छ । जिल्लाको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको हो । उनी असोज १६ गते अस्पतालको कोभिड आइसियुमा भर्ना भएका थिए । उनलाई खोकी तथा श्वासप्रश्वास लगायतका समस्या रहेको थियो । अस्पताल भर्ना भएकै दिन कोरोना संक्रमण पुष्टि भएको उनको आज बिहान ६ बजेर ३५ मिनेट जाँदा ज्यान गएको हो ।
यता नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमणबाट १ महिलाको ज्यान गएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार कै क्रममा आज बिहान साढे ४ बजे २९ वर्षीय सुत्केरी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो । कञ्चनपुरको महेन्द्रनगर १ घर भएकी मृतक महिलाले कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान १ छोरी र १ छोरालाई जन्म दिएकी थिइन् ।
सुत्केरी अवस्थामा नै कोरोना संक्रमणको आशंकामा उनको असोज १४ गते स्वाब संकलन पश्चात परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भए पछि उनलाई असोज १५ गते दिउँसो ४ बजे नेपालगञ्ज शिक्षण अस्पतालमा बेहोस हालतमा रिफर गरिएको थियो ।