कोरोना कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

काठमाडौं । कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

कोभिड–१९ संक्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४ सय ५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १ सय ५० सवारी साधन १ सिटमा १ यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् । काठमाडौंबाट पूर्वका ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ ।

प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउँछन् । ‘बन्दाबन्दीका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौं खर्च लागे पनि यात्रु नहुँदा समस्यामा परेका छौं ।’ उनी भन्छन् । सार्वजनिक यातायात खुलेसँगै बैंक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाई थियो । मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरिने गरेका छन् ।

कोभिड–१९ को संक्रमण हुनु पहिले प्रत्येक दिन ६ सयदेखि ७ सय हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरिने गरे पनि अहिले प्रत्येक दिन २ सयदेखि २ सय ५० सार्वजनिक यातायात बाहिरिने गरेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताउँछन् । ‘विगतका वर्षमा दसैंको १ महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोभिड–१९ का कारण यात्रुको चाप छैन ।’ उनी भन्छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताउँछन् । ‘सार्वजनिक यातायातको भाडाभन्दा थोरै महंगो शुल्क तिरेपछि जहाजमा गन्तव्यस्थलसम्म जान पाउने भएपछि सार्वजनिक यातायातमा यात्रुको संख्या घटेकोे हो ।’ उनी भन्छन् । सरकारले सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई वेवास्ता गरेको उनको भनाइ छ ।

यस्तै, कोभिड–१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको छ । कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि नआउँदा पर्यटक बस व्यवसाय पनि संकटमा परेको छ । टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान) का महासचिव दिपेन्द्र अधिकारी कोभिड–१९ अगाडि प्रत्येक दिन १ सय हाराहारीमा काठमाडौंदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले ३/४ वटा बसमात्र चलेको बताउँछन् ।

‘कोभिड–१९ अगाडि दैनिक २/३ हजार स्वदेशी तथा विदेशी पर्यटक पर्यटकीय बसमा आवतजावत गर्ने गरेपनि अहिले जम्मा १ सय जना यात्रु मुस्किलले आवतजावत गर्छन् ।’ उनी भन्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डअनुसार बस सञ्चालन गर्दासमेत यात्रु नभएको उनको भनाइ छ । रासस

कमेन्टहरु
Loading...