लमजुङको बेसीसहर नगरपालिकाद्वारा राजस्व संकलनमा लक्ष्य हासिल

लमजुङ । कोरोना महामारीका कारण बन्दाबन्दीले आर्थिक क्षेत्रमा असर परिरहेका बेला पनि लमजुङको बेसीसहर नगरपालिकाले राजस्व संकलनमा लक्ष्य हासिल गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १ सय ३ प्रतिशत राजस्व संकलन गरेको हो ।

नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीमा पनि बेसीसहर नगरपालिकाले लक्ष्य प्राप्त हुने गरी राजस्व संकलन गर्न सफल भएको हो । उनले भने ‘बन्दाबन्दीको असरका बाबजुत लक्ष्य प्राप्त गर्न सफल भयौैं, बन्दाबन्दीको असर नभएको भए अझ धेरै राजस्व संकलन हुने थियो ।’

नगरपालिकाले विभिन्न आयमुलक शीर्षकबाट ३ करोड २८ लाख १० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा ३ करोड ३७ लाख ९६ हजार ८ सय ५७ रुपैयाँ राजस्व संकलन भएको नगर प्रमुख अर्यालले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ५ लाख ६९ हजार ५ सय राजस्व संकलन गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेसनबाट १ करोड ५४ लाख १८ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले १ करोड राजस्व संकलन गर्ने अनुमान गरेको थियो ।

नगरपालिकाले सिफारिस दस्तुरसहित विभिन्न दस्तुरबाट ७० लाख ५४ हजार ८ सय ५, एकीकृत सम्पत्ति करबाट ३२ लाख ५६ हजार ५ सय ६९, घरबहाल करबाट ३६ लाख ७१ हजार ९ सय १६, बहाल बितौरी करबाट ४७ हजार ४ सय ८४ रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै साना सवारी करबाट १ हजार १ सय ५०, कषि तथा पशुजन्य बस्तुको कारोबारमा लाग्ने करबाट १ लाख ३८ हजार ५०, व्यवसायिक करबाट १३ लाख २१ हजार ४ सय ५०, गतर्षको बेरुजु रकमबाट प्राप्त कर ३ लाख ८६ हजार ८ सय ६७, भुमीकर मालपोत रजिस्ट्रेसन करबाट २ लाख २९ हजार २ सय २०, विज्ञापन करबाट १ लाख ७४ हजार र अन्य राजस्व बाँडफाँड भई प्राप्त भएको करबाट २० लाख ९७ हजार ३ सय ३४ राजस्व संकलन भएको नगरपालिकाका लेखापाल अमर कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...