थप दुई कोरोना संक्रमितको मृत्यृ

बाँके । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा निमोनियाको समस्या देखिएको थियो ।

त्यस्तै अस्पतालका अनुसार सुर्खेतकी महिलामा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी पित्त थैलीसम्बन्धि रोगबाट ग्रसित थिइन् ।

कमेन्टहरु
Loading...