पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ३ महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिएका छन् ।
पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य २ जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् । पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ । रासस