आन्तरिक हवाई उडान सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए । ‘व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल खुला भयो भन्ने पु¥याउन सकेपछि आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ ।’ उनले भने, ‘लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब व्यवसाय सञ्चालन भएपछि केही मात्रामा तनाव कम हुने छ ।’

उनका अनुसार पोखरामा हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १ सय ८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा १ हजार १२ तथा यातायाततर्फ ६ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् । करिब ३ अर्ब लगानी भएको यस क्षेत्रमा साना–ठूला गरी ४ सय पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक २ पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको संख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उनको भनाइ छ ।

फस्ट फ्लाइट ट्राभल प्रालिका सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताए । ‘अब आशा छ सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिने छ ।’ उनले भने । उनका अनुसार यती र बुद्धले दिनको २ उडान राखेका छन् भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन । त्यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उनले जानकारी दिएका छन् । एयरलाइन्सले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि यात्रुलाई पनि सहज हुने उनको भनाइ छ ।

सोनिक ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक कुलचन्द्र शर्मा पनि सोमबारदेखि सञ्चालन हुन लागेको आन्तरिक हवाई सञ्चालनले व्यवसायप्रति आशा पलाएको जानकारी दिएका छन् । उनले फोनबाट बुकिङसमेत आएकाले विस्तारै व्यवसायले गति लिनेमा आशावादी भएको उनको भनाइ छ । उनले सोमबारदेखि उडान सुरु हुने भएपछि आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाएपछि आफूहरुले पनि टिकट बिक्री गर्न सुरु गरेको जानकारी दिएका छन् ।

कोभिड–१९ को असरलाई ध्यान दिएर सरकारले सञ्चालनको पहिलो साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशत मात्र उडान अनुमति दिएको छ । तर वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी सोमबारदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । सुरुमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएकामा व्यवसायीले चर्को विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने गत भदौ १६ देखि सञ्चालनमा आइसकेको छ ।

छोटालामा दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु हुन थालेपछि ६ महिनापछि पोखरा लेकसाइडका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइडका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा रहेका छन् । पोखरामा ७ सय पर्यटकीय होटल छन् भने संघमा ४ सय होटल आबद्ध छन् । रासस

कमेन्टहरु
Loading...