पोखरा । हिमालपारीको जिल्ला मनाङमा करारका १ चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । १ चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।
मनाङमा कोभिड–१९ को संक्रमणले अझ समस्या थपिएको छ । सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । कोरोना संक्रमणको संख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउन समेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी मात्रै रहेका छन् ।
मनाङमा भएका दक्ष जनशक्तिका रूपमा एक चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि १ जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिएका छन् ।
‘कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सोअनुसार उपचार गर्नुपर्ने हुन्छ । तर यहाँको अस्पतालमा १ जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि १ जनाले मात्रै गर्दा समस्या र चुनौती छ ।’, प्रजिअ गिरी भने, ‘जिल्लाको १ मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।’
अहिले १ मात्र डा अधिकारी दैनिक बिरामी र कोरोना संक्रमितको सेवामा व्यस्त छन् । २ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक १ जना पनि छैनन् । अहिले जिल्लाको अस्पतालबाट सेवा करारका १ चिकित्सकले मात्रै दिँदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
उनका अनुसार अस्पतालमा कार्यरत ४ कर्मचारी करारका छन् । जिल्लामा २ चिकित्सक, २ स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका चिकित्सकले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन् ।
स्वास्थ्यका प्राय धेरैजसो कर्मचारी करारका छन् । उनका अनुसार हाल जिल्ला अस्पतालमा डा अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का रहेका छन् । रासस