गन्थन डेस्क
पोखराको प्रमुख बजार क्षेत्रमा बर्षाले सडक क्षतविक्षत पारेपछि यात्रु र सवारीचालकहरु मर्कामा पर्नु स्वभाविक हो । सडक मर्मतको जिम्मा सडक डिभिजन पोखराको हो । आफ्नो जिम्मामा परेको काम गर्नुको साटो डिभिजन भने अमुक संस्थाको भर परेको छ ।
उक्त संस्थाको नाम ‘जागौं पोखरा अभियान’ हो । हालसम्म कतैपनि दर्ता नभएको संस्थाले ४ दिनदेखि पालिखेचोक, रानीपौवालगायतका सडकको खाल्टाखुल्टी पुर्दैछ । खाल्टो पुर्न प्रयोग गरिएको ग्राभेल र टिप्पर डिभिजन कार्यालयले उपलब्ध गराएको हो । सरकारलाई दबाब र व्यंग्य गर्ने मनाशयले गरिएको यो काम झट्ट हेर्दा मनासिब देखिए पनि त्यहाँ प्रयोग गरिएको ग्राभेलमा माटोको मात्रा अधिक छ ।
खाल्टा पुर्न प्रयोग भएको ग्राभेलमा रहेको माटोले पानी पर्दा हिलो र घाम लाग्दा धुँलो उड्ने गरेको छ । त्यस्तै, माटो ले पिच सडकलाई झनै क्षति पु¥याउने हुँदा आगामी दिनमा सडक मर्मत गर्दा झनै बढी खर्च हुन्छ । खाल्टा पुर्ने अभियानमा जुटेका शिवराज बस्ताकोटीले ‘खाल्डोमा परेर दुर्घटना हुनुभन्दा जे जस्तो सामग्रीले भएपनि पुर्नु नै उत्तम ठानेर काम सुरु गरेको’ प्रतिक्रिया दिए ।
अभियानलाई खाल्डा पुर्न भने सडक डिभिजनले नै सघाएको छ । डिभिजन कार्यालयका अनुसार अभियानलाई टिप्पर र पहिल्यैदेखि स्टोरेज भएको ग्राभेल उपलब्ध गराइएको हो । यस विषयमा डिभिजन कार्यालयका इञ्जिनियर किरण सुवेदीले हाल कोरोनाका कारण सडक मर्मत गर्न नसकिएकाले उक्त अभियानलाई सामग्री उपलब्ध गराएको जानकारी दिए । ‘यतिबेला काम गर्ने मान्छे नै नपाएकाले सडक मर्मत गर्न सकिएन’ सुवेदीले भने । तर, यसरी खाल्डो पुर्ने नाममा सडकको झनै कन्तविजोग भएको छ ।
त्यसो त, पोखरा महानगरका मेयर मानबहादुर जिसीले सपथ खाएको एक महिना भित्रमा ‘र्यापिड रेस्पोन्स टीम’ बनाएर खबर पाएको २४ घण्टा भित्रै खाल्डो पुर्ने घोषणा गरेका थिए । र्यापिड रेस्पोन्स टीमका लागि महानगरपालिकाको रातो किताबमै बजेट बिनियोजनसमेत भइसकेको छ । त्यसयता, मेयर जिसीले कति खाल्डा पुरे, सडक मर्मत गर्न के काम गरे जगजाहेरै छ ।
