सिन्धुपाल्चोक । आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले ४ घर पुरेको छ ।
पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौं रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिएका छन् ।
केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले बताए । घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ ।
पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुगेका बाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताएका छन् । रासस