पोखरा महानगरमा ‘भाञ्जा राज’, रमाना बुझ्नै अटेर

ऋषिकान्त पौडेल

मुलुक संघीय संरचनामा गईसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका राष्ट्रसेवक कर्मचारीलाई समायोजन गरी प्रदेश तथा स्थानीय तहमा खटाउने निर्णय ग¥यो ।

तर पोखरा महानगरपालिकामा एक यस्ता कर्मचारी छन्, जो समायोजनपश्चात सरकारले खटाएको कार्यालयमा हाजिर नभई पोखरा महानगरअन्तरगत स्वास्थ्य महाशाखा प्रमुखकारुपमै काम गर्दै आएका छन् । उनी हुन्, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक अर्थात् हेमन्त शर्मा पौडेल । संघीय निजामति सेवाबाट प्रदेश निजामति सेवामा समायोजन भएका पौडेल उपसचिवसरहका कर्मचारी हुन् । गत सालको सुरुवातमै रमाना लिई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा हाजिर हुनुपर्नेमा पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुखकै कुर्सी ओगटी रहनुको पछाडी के रहस्य छ भन्नेमा स्वयं महानगरका कर्मचारीहरु अन्यौलमा छन् ।

‘हेमन्त सरसँगै समायोजन भएका अन्य कर्मचारीहरु त्यतिनै बेला रमानासहित खटाईएको स्थानमा गईसकेका छन् । तर उहाँ किन रहिरहनुभएको छ त्यो बुझ्न सकिएको छैन’ महानगरका एक अधिकृतले भने । उनले थपे– ‘यता अप्ठेरोमा परे रमाना लिने नत्र महानगरकै सुविधासम्पन्न कुर्सीमा बसिरहने उहाँको दाउ होला ।’
पौडेल महाशाखा प्रमुखकैरुपमा कार्यरत हुनुमा रहस्य भने अर्कै छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख बिनोदबिन्दु शर्माका आफ्नै भान्जा भएकैले पौडेल महाशाखाको कुर्सीमा विराजमान हुने मौका पाईरहेका छन् । समायोजन भएका कर्मचारी बाटोको म्यादबाहेक २१ दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिवार्य हाजिर हुनुपर्ने कर्मचारी समायोजन ऐन २०७५ मा स्पष्ट उल्लेख गरिएको छ ।

ऐनको पालना नगरेमा वा नगराएमा ऐनको उपदफा (१)वा (२)बमोजिमको अवधिभित्र हाजिर नहुने कर्मचारीलाई प्रचलित कानुन बमोजिमको विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सेवाबाट अवकाश दिनेछ । यसका लागि सम्बन्धित कार्यालयका प्रमुखले आवश्यक कदम चाल्नुपर्ने हो तर पनि निर्देशक शर्माले पौडेललाई आफ्नो कार्यालयमा हाजीर गराउन वा कारवाही गर्न कुनै चासो दिएका छैनन् । स्रोत भन्छ, ‘सम्भवतः उहाँलाई यही अड्याइराख्न मामाको आशिर्वादले काम गरेको हुनसक्छ ।’

यस विषयमा महाशाखा प्रमुख पौडेलसँग कुरा गर्दा आफ्नो समायोजन प्रदेश स्वास्थ्य निर्देशनालयमा भएको स्वीकार गर्दै वर्तमान अवस्थाले गर्दा महानगरमै काम गरिरहेको प्रतिक्रिया दिए । ‘सरुवा भएपछि हिड्ने भन्दाभन्दै कोरोनाको अवस्था आयो त्यसैले महानगरमै काम गरिरहेको छु’, पौडेलले भने । प्रदेश निर्देशनालयका निर्देशक मामा भएकैले उहाँको आडमा रमाना नबुझ्नुभएको हो भन्ने प्रश्नमा पौडेलले सम्बन्धको दुरुपयोग नगरेको र रमाना रोकिदिन कतै फोन नघुमाएको जनाए । यस विषयमा थप बुझ्न गण्डकी स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्मालाई निरन्तर फोन सम्पर्क गर्दा फोन रिसिभ भएन ।

तर समायोजनमा परेका कर्मचारीलाई खटाइएको कार्यालयमा जान भन्दै यसअघि पोखरा महानगरले ४ पटकसम्म सूचना निकालिसकेको छ । उक्त सूचनालाई लत्याउँदै आएका पौडेलले राजनीतिक र विभागीय आडमा महानगरमै बसिरहेको महानगर स्रोतले बतायो । ‘बिचमा एकपटक कास्की जिल्लाको स्वास्थ्य प्रमुखमा जाने चर्चा थियो तर त्यो नमिलेपछि महाशाखाको प्रमुख छाड्नुभएको छैन’ स्रोतले भन्यो ।

कुनै पनि कर्मचारीले आफु जहाँको कर्मचारी हो त्यहिँबाट तलब र अन्य सुविधा लिनुपर्ने भएपनि पौडेलले काम गरिरहेको हिसाबले महानगरबाटै तलब भत्ता बुझ्ने गरेका छन् । त्यसो त सामाजिक विकास मन्त्रालयअन्तरगतको स्वास्थ्य महाशाखाले पनि पौडेललाई खटाईको कार्यालयमा हाजिर हुन कोरोना कहर सुरु हुनु अगावै आग्रह गरेको थियो । अघिल्लो दशैअघि नै गरिएको आग्रहलाई पौडेलले अटेर गरेको महाशाखा स्रोतले जानकारी दिएको छ ।

यस विषयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले समायोजन भएको कार्यालयबाट हाजिर हुने व्यहोराको पत्र नआउँदा पौडेल महानगरमै कार्यरत रहेको कूटनीतिक जवाफ दिए । ‘प्रदेशको निर्देशनालयबाट यता आउनप¥यो भनेर चिठी आएकोे भोलिपल्टै उहाँलाई पठाउन कुनै अप्ठेरो छैन’, हामी सट्टामा तुरुन्तै अर्को व्यवस्था गरिहाल्छौं’ मेयर जिसीले भने ।

कमेन्टहरु
Loading...