कोरोना हिसाबकिताबः गण्डकीमा साढे १८ करोड सकियो

गन्थन डेस्क

गण्डकी प्रदेशले कोरोना नियन्त्रण र उपचार कोषमार्फत साढे २ महिनामा साढे १८ करोड रुपैयाँ बढी निकासा गरेको छ । प्रदेशअन्तरगतका विभिन्न जिल्लामा सामाजिक बिकास मन्त्रालयले कोरोना भाईरस रोग नियन्त्रण तथा उपचार कोषमार्फत निकासा भएको रकमले संक्रमण रोक्न गरेको पहल प्रभावकारी हुन नसकेको पाइएको छ । मन्त्रालयले श्रावणको २५ गतेसम्म विभिन्न निकायलाई गरी १८ करोड ५५ लाख ३५ हजार ३ सय २६ रुपैयाँ निकासा गरेको हो ।

जसमध्ये प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई सबैभन्दा बढी अर्थात एक करोड २९ लाख रुपैयाँ निकासा भएको छ । यस कार्यालयका लागि मन्त्रालयबाट एक लाख ब्यक्तिलाई पिसिआर परीक्षण गर्न २६ हजार किट खरीदका लागि ७२ लाख ६३ हजार रुपैयाँ गत जेठमा निकासा गरेको थियो । हालसम्म गण्डकी प्रदेशमा जम्मा ४० हजार ६ सय ३७ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि एक करोड ११ लाख ७९ हजार रुपैयाँ निकासा गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५० लाख, स्वास्थ्य निर्देशनालयले ६१ लाख ३१ हजार, बाग्लुङ अस्पतालले ७४ लाख २३ हजार रुपैया मन्त्रालयबाट रकम पाईसकेका छन् ।

यता, हालैमात्र प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालका लागि ७० लाख ३४ हजार रुपैयाँ मन्त्रालयका तर्फबाट निकासा भईसकेको जानकारी दिएको छ । मन्त्रालयले दिएको तथ्याङक अनुसार सबैभन्दा कम बजेट जिल्ला प्रशासन कार्यालय कास्कीलाई दिएको छ । कास्की प्रशासनले जम्मा २५ हजार रुपैयाँ मन्त्रालयबाट लिएको छ । उक्त रकम स्ट्रेचर खरिद गर्न निकासा गरेको बुझिएको छ । त्यस्तै, रेडक्रस सोसाईटीले १ लाख ६० हजार रुपैयाँ मन्त्रालयबाट प्राप्त गरेको छ । सोसाइटीलाई संक्रमितको शव व्यवस्थापनार्थ उक्त रकम दिइएको हो ।

जिल्लागतरुपमा सबैभन्दा बढी कास्कीका लागि १९ लाख रुपैयाँ मन्त्रालयबाट निकासा भएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङको स्वास्थ्य कार्यालयका लागि दुई–दुई लाख रुपैयाँ निकासा भएको छ ।
यसैगरी नवलपुरमा १३, बाग्लुङमा ८, स्याङजामा ५, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी र पर्वतमा ४–४ लाख रुपैयाँका दरले रकम निकासा भएको छ ।

मन्त्रालयबाट निकासा भएको रकम लिने अन्य कार्यालयहरु, स्वास्थ्य तालिम केन्द्रले २० लाख रुपैयाँ, गोरखा जिल्ला अस्पतालले २० लाख, क्षयरोग उपचार केन्द्रले ८ लाख ४७ हजार, बेनी अस्पतालले १० लाख, स्याङ्जा अस्पतालले १० लाख, मध्यविन्दु अस्पताल, मनाङ अस्पताल र जोमसोम अस्पतालले ५–५ लाख रुपैयाँ पाइसकेका छन् ।

गण्डकी प्रदेश सरकार अन्र्तगतको कोरोना भाईरस रोग नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको कुल ३४ करोड ७१ लाख ३० हजार ९२ रुपैयाँमध्ये अब १६ करोड १५ लाख ९४ हजार सात सय छैसठ्ठी रुपैयाँ बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विभिन्न २ सय ९२ ब्यक्ति तथा संघसंस्थाले प्रदेश सरकारले सञ्चालन गरेको कोषमा यो रकम जम्मा गरेका थिए ।

यसैगरी प्रदेश सरकारले तीन अवस्थाका कोरोना संङक्रमितलाई छुट्टाछुट्टै स्थानमा राख्ने तयारी गरेको छ । लक्षणसहितका संङक्रमितलाई लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा, गम्भीर प्रकृतिका संक्रमितलाई (जसलाई भेन्टिलेटरको आवश्यक पर्छ) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लक्षणरहितलाई अन्य कुनै एक स्थानको व्यवस्था गरी राखिने छ ।

15973102356531_कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने व्यक्ति र संस्थाको विवरण

कमेन्टहरु
Loading...