पोखरा । पोखरा महानगरपालिका २७ अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्याल संग्रहालय परिसरमा सिर्जनशील युवा क्लबमा आवद्ध युवाले सरसफाइ गरेका छन् ।
लामो समयको बन्दाबन्दीका कारण सरसफाइ हुन नसक्दा कवि शिरोमणिको जन्मघरको छानामा झार पलाएको तस्बिर प्रकाशित भएको थियो । सो तस्बिर अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित भएपछि यसको सरसफाइमा चासो र चर्चा बढेको थियो ।
फोटो विभिन्न सञ्चारमाध्यममा देखिएपछि क्लबका पदाधिकारी सहितको टोलीले सोमबार कवि शिरोमणिको जन्मघरसहित संग्रहालय परिसरमा सरसफाइ गरिएको सिर्जनशील युवा क्लबका अध्यक्ष निरज लामिछानेले बतएका छन् ।
‘लामो समयको बन्दाबन्दीका कारण छानामा झार पलाएको कवि शिरोमणिको जन्मघरको फोटो विभिन्न सञ्चारमाध्यममा देखेसँगै तत्काल क्लबका पदाधिकारी स्वतःस्फूर्त त्यहाँ पुगी सरससफाइ गरेका हौं ।’ उनले भने ।
कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
समितिले कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा निर्माण गरेको छ भने उनको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गरिएको छ ।
कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माण गरिएका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको शालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका छन् । रासस