गन्थनको आगमन

गन्थन डटकम अनलाइन मिडियामा अपरिचित नाम हैन । सन् २००८ देखि पोखरालाई केन्द्र बनाएर अनलाइनमाध्यमबाट स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाचार पस्कँदै आएको छ । पछिल्लो दिनमा गन्थनको स्वरुप र समाचारको शैलीमा फरकपन देखिएको छ । यो फरकपनमा व्यवस्थापनसमेत फरक रहेको जानकारी गराउँछु । सूचना र समाचारको दुनिँयामा गन्थन अब निरन्तर दैनिक अपडेटको साथ यहाँहरुलाई हरप्रहर समाचार पस्कने प्रतिबद्धता जनाउँदछु । समाचार केवल घटेको घटनालाई प्राथमिकता दिने शैली भएपनि विश्लेषणात्मक र विचारप्रधान सूचनालाई उत्तिकै महत्व दिने गन्थनको प्रण छ । हामी पुरानो नाम लिएर नवीनतम ढंगले पत्रकारिताको आयामलाई अघि बढाउने सोंचका साथ आएका छौं ।

हाम्रो सोंच र योजना हाम्रो चौघेरामा तयार गरिए पनि त्यसलाई साकार रुप दिने समाज र यहाँको उतारचढाव भएकाले हामी समाजको अभिन्न अंग रहेर समाचारलाई ‘जस्ताको तस्तै’ पस्कने यात्रामा छौं । हाम्रो सम्पादन, समाचार र बजार व्यवस्थापन टिमलाई समयसापेक्ष राख्दै समाचारको तथ्यलाई नजिकबाट नियाल्दै खबरको विश्वसनीयतालाई सदैव तथ्यपरक बनाउने जिम्मा रहेको छ । जनमानसको सूचना पाउने अधिकार प्रत्यक्षरुमा प्रेस स्वतन्त्रतासँग सम्बन्धित रहेकाले हामी अनवरत प्रेस स्वतन्त्रताको पक्षमा छौं । नागरिकको मौलिक अधिकारलाई सर्वाेपरी राख्दै, पत्रकारिताको आधारभूत सिद्धान्तलाई पच्छ्याउँदै गन्थन डटकम अनलाइनको क्षेत्रमा अग्रणी हुने वाचा गर्दछौं । मिडिया पछिल्लो समय उद्योगको आवरण देखा परेको छ ।

केवल सूचना पस्कनु र जनतालाई सूचित गरिरहनु मिडियाको दायित्व भएपनि बजारको सहयोगबिना मिडियाले आफुलाई जीवन्त राख्न सक्दैन । यदाकदा सरकारबाट लोककल्याणकारी विज्ञापनको रुपमा आउने सहयोगले मिडिया स्वायत्त बनाउन कठिन हुन्छ । यसर्थ, हामी बजारबाट साथ र सहयोगको अपेक्षा गर्दछौं । मिडियाको सबलीकरणको अर्थ आम जनमानसको अधिकार र अपेक्षालाई अझ घनीभूत बनाउनु हो भन्ने हाम्रो मूलमन्त्र हो । नयाँ व्यवस्थापनमार्फत हाम्रो आगमनमा शुभकामना दिने हाम्रा पाठक, स्रोता, दर्शक र व्यावसायिक प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

कमेन्टहरु
Loading...