गहकिलो गन्तव्यमा गन्थन

करिब १ दशक अघिदेखि खबरयात्रामा निरन्तर रहेको गन्थन डटकम अहिले केही नयाँ कलेवर र साजसज्जामा जनमानससमक्ष आएको छ । बितेका दिनमा के, कस्ता समाचार आए, त्यसको कस्तो प्रभाव रह्यो भन्ने सूक्ष्म अध्ययन गर्दै आगामी दिनमा कस्तो योजना र रणनीति बनाई अघि बढ्ने भन्ने प्रारुप तयार पारि गन्थनले दोस्रो इनिङ सुरु गरेको छ । नयाँ अध्यायको थालनी गर्दा त्यसलाई मूर्तरुप दिन व्यवस्थापनसमेत नयाँ रहेको जानकारी गराउँदछौं । आन्तरीक गन्थन/मन्थन व्यवस्थापनको पाटो भएपनि गन्थन डटकमको अभीष्ट चाहना भनेको आम नागरिकको सूचना पाउने अधिकारलाई सुनिश्चित गरी सूचनाको राजमार्गमा आफुलाई अब्बल सावित गर्नु नै हो । सूचना र समाचारको संवाहक बन्दै समाजको भित्री पाटोको अध्ययन गरी खबरलाई विश्वसनीय, तथ्यसंगत र प्रभावकारी बनाउनु नयाँ टिमको मूलमन्त्र हो ।

हाल मुलुकमा विश्वकै उत्तम मानिएको राजनीतिक व्यवस्था ‘गणतन्त्र’को राज छ । गणतान्त्रिक राज्य व्यवस्थाको छत्रछायाँमा मुलुक अघि बढिरहँदा प्रेस स्वतन्त्रताको उपभोग गर्दै मिडियाको स्थापना दिनानुदिन बढिरहेको छ । तर, मिडिया बढ्नुको अर्थ समाचारको आधिकारिकता बढ्नु भने पक्कै हैन । तसर्थ, हाम्रो चुनौति त्यस्ता अफवाह र अतिरञ्जित समाचारबाट आम पाठक, दर्शक र श्रोतालाई बचाउँदै मूलधारको पत्रकारितालाई न्याय गर्नु हो । पत्रकारितामा वस्तुनिष्ठ समाचारको विकल्प छैन । वस्तुनिष्ठ समाचारको खोज, अध्ययन, अनुसन्धानसँगै लुकेर रहेका र लुकाइएका विषयवस्तुलाई उजागार गर्ने हाम्रो यात्रा आजदेखि सुरु भएको छ । अझ भनौ, नागरिक पत्रकारिताको यात्रामा गन्थन परिवारले आफ्नो पाइला उचालिसकेको छ ।

लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई अभिव्यक्त गर्न पाउने अधिकार रहन्छ । नागरिकको ‘अभिव्यक्ति’ हाम्रो समाचार हो । पत्रकार र पत्रकारितालाई राज्यको चौथो अंग भनि गरिने सम्मानस्वरुप हामी शक्तिको प्रतिपक्ष हुनेछौं । अल्पमत र आवाजविहीनलाई समेट्ने प्रयास सदैव रहनेछ । अक्षरमात्र हैन, दृश्यमूलक माध्यममार्फत हामी अझ सशक्तरुपमा खबर दिनेछौं, खबरदारी गर्नेछौं । विश्व बजारमा उपलब्ध सूचना प्रविधिको आत्मसात गर्दै अनलाइन टेलिभिजन र यूट्युब च्यानलमार्फत जनमानससँग पलपल रहने वाचा गर्छाैं । यसर्थ, कुनैपनि शक्ति, दबाब समूह, दल र वादको प्रभावबाट आफुलाई अछुतो राख्दै व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य अनि मान्यतालाई शिरोपर गरी गन्थनले गहकिलो गन्तव्यमा पाइला चालेकाे छ ।

कमेन्टहरु
Loading...