कोरोना संक्रमणबाट सचेत हुन बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य निर्देशनालयको अनुरोध

पोखरा । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले संक्रमणको जोखिमबाट बच्न सचेत भएर काम गर्न आग्रह गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्देशनालयले सचेत भएर काम गर्न बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीलाई आग्रह गरेको हो ।

निर्देशनालयले बैंकमा पुग्ने सेवाग्राही तथा अन्य व्यक्तिको सम्पूर्ण विवरण लिन आग्रह गरेको छ ।

साथै बैंकका कर्मचरी तथा सेवाग्राहीले अनिवार्य रुपमा सामाजिक तथा भौतिक दुरी कायम गर्न, बारम्बार साबुन पानीले हात धुन तथा स्यानीटाइजर प्रयोग गर्न, स्पष्ट सरसफाई तथा सुरक्षा निर्देशिका सहित डिस्प्ले बोर्ड सबैले देख्ने गरेर राख्न समेत निर्देशनालयले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

‘बारम्बार हातले छोइने स्थान तथा सामानहरु जस्तै ढोकाको ह्यान्डल, काउन्टरको सतह, टेबुल, कुर्सी कम्प्युटर, स्क्यानर, प्रिन्टर, विद्युतीय स्वीच, नोट गन्ने मेसिन लगायतलाई दिनमा कम्तीमा ३ पटक सरसफाईको सुनिश्चितता गर्नपर्छ ।’ निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थामा उपलब्ध कलमको प्रयोग सकेसम्म निरुत्पाहित गरी आफूले नै कलम लिएर आउन प्रोत्साहित गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...