पोखरा ।
कोरोना संक्रमणको कारण मृत्यु भएका पोखरा १९ का ६२ वर्षीय वृद्धको पोखरा ३२ को लामेआहाल नजिकै रहेको सेती घाटमा अन्त्यष्टी गरिएको छ । उनको शवलाई फुलमाला र खादा लगाएर नेपाली सेनाको टोलीले उनलाई सलामी अर्पण गर्दै अन्त्यष्टी गरेको हो ।
आइतबार भएको शव दहन कार्यक्रममा मृतकका छोरी पनि उनलाई गाड्ने घाटसम्म पुगेकी थिइन् । सेती घाटमा मृतकलाई गाडिरहँदा उनको छोरी भने अलि माथिको डाँडामा बसेर डाको छाडेर रोइरहेको थिइन् ।
कोरोना संक्रमणको संख्या बढ्दै जाँदा पनि जनताले भने कोरोनालाई हल्ला फुल्का लिएर हेलचक्राई गरिरहेका छन् । तर कोरोना रोग लागेर तपाईंका कोही आफन्तको ज्यान गयो भने तपाईंले न आफन्तको लाशलाई अगाँलो हालेर रुन सक्नुहुन्छ न त परम्परा अनुसार शव दहन गर्न सक्नुहुनेछ । अरु त अरु तपाईंको आफन्तको लाश गाड्ने ठाउँ पाउन पनि साह्रै कठिन हुनेछ ।
कोरोना संक्रमणका कारण मृत्यु आँफूलाई नपरुञ्जेल केही नलाग्ने तर आफ्नै परिवारमा पर्दा जिन्दगीभर बिझाइरहने भएका कारण सचेतना अपनाऔं । जिन्दगी रहे पो सबथोक रहन्छ ।
यसअघि कोरोना संक्रमित लाश गाड्ने क्रममा स्थानीयको विरोध भएपछि यो पटक करिब ३ सय सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो । आज भने शव अन्त्यष्टी कार्यक्रममा स्थानीयले अबरोध गरेका थिएनन् ।
आज मृत्यु भएका मृतकसँग सम्पर्कमा रहेका पाँच जनामा पनि कोरोना देखिएको छ । उनीहरुमा कोरोना संक्रमण भएसँगै पोखरा महानगरपालिका वडा नं. १९ र १६ अघोषित सिल गरिएको छ ।