पोखरा ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी सुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब २ करोड भेटीघाटी कम भएको छ । मन्दिरमा दैनिक करीब १ लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी बन्दाबन्दी सुरु भएपछि बिहान बेलुकाका नित्यपूजा र आरती बाहेक सर्वसाधारणका लागि दर्शन गर्न बन्द गरिएको छ । विन्ध्यवासिनी मन्दिर पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै भारतबाट आउने पर्यटकले नछुटाउने गन्तव्य हो । केही उँचो ठाउँमा भएकाले यहाँबाट पोखरा उपत्यकाका साथै माछापुच्छ«ेलगायत हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।
मन्दिरसहित परिसरमा रहेका शिवालय, सरस्वती, गणेश र राधाकृष्ण मन्दिरले यहाँको महत्वलाई बढाएका छन् । मन्दिर उक्लनका लागि सिँढी चढ्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लिफ्ट पनि निर्माण गरिसकिएको छ । देवीको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वासका आधारमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । रासस