काठमाडौं, ३० जेठ /सरकारले कक्षा १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ ।
एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिका, बेलाएत लगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको हो ।
कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय गरेको शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले जानकारी दिए ।
१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने उनको भनाई छ ।
विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ ।
स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्र जस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँथे ।