हिन्दू राष्ट्र कायम नगरिए कडा आन्दोलन गर्ने क्षत्री समाजको चेतावनी

पोखरा, २३ चैत/आरक्षण विभेद अन्त्य र मुलुकलाई हिन्दू राष्ट्र कायम नगरिए कडा आन्दोलन गर्ने क्षत्री समाज नेपालले चेतावनी दिएको छ ।

‘राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूलनाराका साथ शनिबारदेखि सुरु क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताले जातीय आधारमा नभई गरीबीका आधारमा आरक्षण दिनुपर्नेमा जोड दिए ।

देशमा सबैभन्दा धेरै जनसंख्या रहेको क्षत्री जातिलाई विभेद गरिएको समाजको गुनासो छ । राप्रपा, नेपाली काँग्रेस लगायत राजनीतिक पार्टीका नेताहरुले देशमा धर्म निरपेक्षता लागू गर्नेबारे जनमतसंग्रह गर्नुपर्ने आवाज उठाइरहेको बेला क्षत्री समाज नेपालले पनि सो मुद्दा अघि सारेको हो ।

प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीले महाधिवेशन उद्घाटन गर्दै राज्यले प्रदान गर्ने आरक्षण जातीयतामा नभइ गरीबीका आधारमा प्रदान गरिनुपर्ने बताए । उनले वैदिक हिन्दू सनातन धर्म भएको नेपाललाई यूरोपियन क्रिश्चियनहरुको दबाबमा परेर अन्यायपूर्ण तरिकाले धर्म निरपेक्ष बनाइएको बताए ।

पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य कुमार खड्काले राज्यले जातका आधारमा नभई गरीबीका आधारमा आरक्षण प्रदान नगरे देशमा द्धन्द्ध मच्चिने चेतावनी दिए ।

समाजका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले क्षत्री समाजभित्र कुनै राजनीतिक कुरा नभएको दाबी गर्दै समुच्च राष्ट्रको हितको लागि काम गर्ने बताए । उनल आफ्नोमात्र होइन गुरुङ, मगर, राई, लिम्बु सबैको साझा पहिचानको आवाज उठाएको दाबी गरे ।

कार्यक्रममा पूर्व मन्त्री देवेन्द्रराज कँडेल, पूर्व सेनापति रुक्माङ्गत कटुवाल, गण्डकी प्रदेश सभाका अर्का सदस्य कृष्ण थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतले क्षत्री जातिले राज्यको हितको लागि गरेको योगदानको बारे चर्चा गरेका थिए ।

समाजका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले क्षत्रीले देशको कुनै पनि नागरिक राज्यबाट उपेक्षित हुनु हुँदैन भने । महाधिवेशन उद्घाटन पूर्व पोखराको चिप्लेढुंगाबाट जातीय पोशाकमा सजिएका क्षत्रीहरुले न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै नयाँबजारसम्म ¥याली निकालेका थिए ।

अधिवेशसनमा भाग लिन देशभरबाट करिब १ हजार २ सय जना प्रतिनिधि पोखरा आएका छन् । कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, कमल थापा, चित्रबहादुर केसी आउने भनिए पनि खराब मौसमका कारण उडान नहुँदा उपस्थित हुन सकेनन् ।

आइतबारसम्म चल्ने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने प्रचार प्रसार संयोजक एवं समाजका केन्द्रीय सचिव कृष्ण थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...