पोखरा, ३ साउन /प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिनिरल सहितको पानीको व्यपार विश्वभर गर्न सकिने बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले पहराबाट मिनिरल सहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाईने दावी गरे ।‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनिरल वाटर बन्छ ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ ।
रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने बस्तु मिनिरल वाटर हो ।’ आम नेपाली जनताको चाहना विकास र समृद्धि भएकोले सरकार त्यसका लागि तयार रहेको प्रधानमन्त्रीको भनाई छ । उनले देशको समृद्धी र आर्थिक विकासका लागि पानी जाहज र रेलमार्ग विस्तार गर्नु पर्नेमा पोखरा पनि जोड्दिएका छन् । उनले सरकार पानी जहाज र रेल ल्याउने कुरामा गम्भीरताका साथ लागि रहेको प्रष्ट्याए । केरुङबाट काठमाण्डौं हुँदै पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग विस्तार द्रुतगतिमा हुने उनको विश्वास छ ।
प्रधानमन्त्री ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक बनार्ईएको भन्दै रेल चलाई छाड्ने बताए । रक्सौल काठमाण्डौ रेल पुर्व सम्भाव्यता अध्ययन सूरु भईसकेको र छिमेकी मुलुक चीनले समेत आउदो अगष्टवाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ ।
सँगसँगै उनले गण्डकी प्रदेशको बयान पनि गर्न भ्याए । प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए ।
उनले नेपालबाट तुईन हटाईछाड्ने दृढता दोहोर्याए । ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन् । प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा फिल्म सिटीको अवधारणा पनि सरकारले सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन् । मैले जि सिनेमाका कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङदीको आसपास ठाउँ हेर्न भनेको छु, उनले भने–यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुम्वई यता सर्छ । मुम्वईमा समथर बाहेक केही देख्न पाईंदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाईन्छ ।’