पोखरा, २७ जेठ/पत्रकार रुपनारायण ढकाललाई गजेन्द्र भण्डारी सृजनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत गरिने भएको छ । नेपाल पत्रकार महासंघद्धारा संचालित स्वर्गीय युवा पत्रकार राजेन्द्र भण्डारीको स्मृतिमा उहाँको परिवारजनद्धारा स्थापित उक्त पुरस्कार युवा पत्रकार रिसेन्टफ्युजन डट कमका सम्पादक, द हिमालयन टाइम्स रिपोर्टर ढकाललाई प्रदान गनिरे भएको महासंघ कास्कीले जनाएको छ ।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा आज (आईतबार) बसेको ३५ औं बैठकले पत्रकार ढकाललाई उक्त पुरस्कार अपर्ण गर्ने निर्णय गरेको महासंघका सह–सचिव दीननाथ बरालले बताए । महासंघका पुर्व अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाको संयोजकत्वमा गजेन्द्र भण्डारी सृजनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ को प्रतिभा छनौट समिति गठन भएको थियो । समितिले दिएको सिफारिसको आधारमा महासंघले पत्रकार ढकाललाई नै यस बर्ष सम्मान गर्ने भएको हो । समितिमा श्याँमनाथ कुवंर र रतन गुरुङ रहेका थिए ।
पोखरा लेखनाथ महानगरपालिका– ३२ सातमुहाने स्थायी घर भएका पत्रकार ढकाल २०५४ सालदेखि गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनले जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, दक्षिण कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइट लगायतका संघ संस्थामा काम गरेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दुताबास लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी दर्जन बढी तालिमहरु लिएकाछन।