नयाँ दिल्ली, श्रावण २१ – भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले केहीबेर अघि भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् । भेट आशन्न संविधानसभा चुनावमा केन्द्रित थियो ।
थप सहयोग चाहिए भन्नुस् : भारतीय विदेश सचिव
भारतको औपचारिक भ्रमणमा आएका कांग्रेस सभापति सुशील कोइरालासाग भेटवार्ता गर्दै भारतीय विदेश सचिव सुजाता सिंहले आसन्न संविधानसभा निर्वाचन सफलताका लागि कुनै प्रकारको सहयोग आवश्यक भए तत्काल जानकारी गराउन आग्रह गरेकी छिन् ।
कोइराला बसेको होटल ललितमा भेटवार्ता गर्न पुगेकी सचिव सिंहले मंसिर ४ को तोकिएको तिथीमै नेपालमा संविधानसभा निर्वाचन हुनेमा भारत विश्वस्त रहेको बताउँदै यसका लागि कुनै प्राविधिक सहयोग आवश्यक भएमा जानकारी दिन अनुरोध गरेकी हुन् । भेटमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार सभापति कोइरालाले तोकिएकै तिथिमा निर्वाचन हुने र यही मुलुकको शान्ति स्थिरताको आधार बन्ने धारणा राखेका थिए ।
‘झण्डै १४ बर्षयता स्थानीय निकायमा निर्वाचन हुन नसक्दा जे बेथिति र भद्रगोल स्थिति उब्जिएको छ, राष्ट्रिय तहमा पनि निर्वाचन नभए त्यस्तै अवस्था उब्जन सक्छ,’ सभापति कोइरालाको भनाइ उद्धृत गर्दै महामन्त्री सिंहले भने, ‘आउने दिनमा नेपालमा शान्ति, स्थिरता र प्रगतिका निम्ति पनि यो निर्वाचन अपरिहार्य बनेको छ ।’ विदेश सचिव सिंह र सभापति कोइरालाबीच नेपाल-भारत सामाजिक, सांस्कृतिक तथा भौगोलिक निकटताबारेमा चर्चा भएको थियो । भेटमा कांग्रेसका अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाको पनि उपस्थिति थियो ।
सभापति कोइरालाले सोमबार अपरान्ह प्रधानमन्त्री मनमोहन सिंह र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटवार्ता गर्दैछन् ।
कोइराला गान्धी समाधीस्थल राजघाटमा
भारतीय प्रधानमन्त्रीको औपचारिक निम्तो पाएर दिल्ली आएका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जलि व्यक्त गरेका छन् ।
भारत सरकारका विशिष्ट पदाधिकारीसँग भेटघाटपूर्व नेता कोइरालाले राजघाट जान चाहेकाले अरु नियमित तालिकामा यो कार्यक्रम थप गरिएको हो । कोइरालाका साथमा महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा दिल्लीस्थित कार्यबाहक राजदूत खगनाथ अधिकारी पनि राजघाट पुगेका थिए ।
– See more at: http://www.ekantipur.com/np/2070/4/21/full-story/373448.html#sthash.dhIYyvDp.dpuf
२०८२ फाल्गुन ५ गते मंगलवार
कोइरालाले भारतीय प्रधानमन्त्री भेटे
कमेन्टहरु