१३ साउन, काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले अहिले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । ‘क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के कुरा बुझ्नुपर्छ भने राजाका पछि लागेको मानिसहरु राष्ट्रबादी प्रजातन्त्रबादी मान्छे हुन् ।’ कटवालले कान्तिपुर दैनिकलाई अन्र्तवार्ता दिंदै भनेका छन- ‘ती अरु पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म तीनलाई राजाबादी भन्दिनँ, प्रजातन्त्रबादी हुन र तीनले बिकल्प खोजेका हुन् ।’
आफुले राजा फर्काउने खालेको समाधान खोज्दै नखोजेको भन्दै कटवालले भनेका छन-’हामीले संसारको गति बुझ्नुपर्दथ्यो, २१ सताब्दिमा १६ औं सताब्दिको जस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तराष्ट्रिय समुदायले बिरोध गर्नु स्वभाविक थियो । परिवर्तित हुने प्रसस्त मौका मिलेको हो, त्यो हुन सकेन ।’
सक्रिय राजतन्त्रको बेलामा आफु राजाको सल्लाहकारको कोर ग्रुपमा रहेको अस्वीकार गर्दै उनले आफुलाई रत्नले हुर्काएको भन्ने कुरा पनि गलत रहेको बताए । उनले भने- नारायणहिटीमा म एक रात पनि सुतेको छैन ।’
राजसंस्था फालेकोमा आफुलाई पछुतो नलागेको तर फाल्ने बिधि र प्रकृया सही नभएको कटवालको टिप्पणी छ । नेपाली सेनालाई एउटा परिवारको सेनाको रुपमा प्रचार गरिएकाले आफु कुनै ब्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना हो भन्ने सन्देश दिन राजासंस्था फाल्ने निर्णय मानेको कटवालले बताए ।
९५ प्रतिशत जनता राजतन्त्रबादी
कटवालले अहिले पनि नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरु राजतन्त्रबादी रहेको दावी गरेका छन् । ‘नेपालमा अहिले पनि ९० देखि ९५ मानिसहरु राजतन्त्रबादी छन, राजाबादी चाहिं होइन नी । म पनि राजबादी हैन, राजतन्त्रबादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसावले प्रजातान्त्रिक पद्दतीभित्र बस्ने सम्पूर्ण जातजाति धर्म समुदायले मानेको एकताको प्रतिक चाहिएको छ । राजतन्त्र फाल्ने बिधि जुन अपनाइयो त्यो ठिक भएन । अहिले पूर्वराजा जहाँजहाँ जान्छन नेताहरु किन यसरी तर्सेका ? किन यस्तो बिक्षिप्त भएका ?’
संबिधानसभाले संबिधान बनाउँदैन
संबिधानसभाले संबिधान लेख्न नसक्ने ठोकुवा गर्दै कटवालले बिज्ञहरुको समूहले संबिधान बनाउनु नेपालको सन्दर्भमा सवैभन्दा उपयुक्त हुने बताए । ‘किनकी संबिधान लेख्ने त बिज्ञहरुले हो नी । साँच्चिकै संबिधान बनाउन चाहेको भए चार/पाँच जना बिशेषज्ञको समूह राखेर संबिधान बनाऔं । पहिले आधारभूत कुरा तय गरौं र त्यसरी बन्ने संबिधानलाई संसदबाट अनुमोदन गरौं ।’ संबिधानसभामा बिज्ञ नहुँदा संबिधान बन्न नसकेको भन्दै कटवालले भने-’हामीले समावेशीका नाममा हामीले घाँसीलाई ल्यायौं, भाँडा माझ्ने मान्छेलाई ल्यायौं, संबिधान लेख्ने मानिस त बिज्ञ हुनुपर्यो नी ।’
कटवालले दोस्रो जनआन्दोलनलाई ‘कथित’ जनआन्दोलनको संज्ञा दिँदै त्यसयताको आठ बर्षमा मुलुकको अबस्था झनै बिगि्रएकाले बरु पहिले नै ठिक थियो भन्ने अबस्था आएको बताए । cp. onlinekhabar.com
२०८१ बैशाख २३ गते आईतवार
राजतन्त्र फर्किने सम्भावना छैन तर एकताको प्रतिक चाहिन्छ : कटवाल
कमेन्टहरु