पोखरा, २० असार /स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) संगको सहकार्यमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयद्धारा आयोजित ‘भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धि अभिमुखिकरण तथा कालिगढ तालिम’ सोमबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक समापन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङ्गले विपद्लाई रोक्ने वा न्युनिकरण गर्ने सवालमा निर्माणकर्मी कालिगढहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अभिमुखिकरण तालिममा सिकेको सिपलाई व्यवहारिकतामा लागु गर्नुपर्ने भन्दै उप–प्रमुख गुरुङ्गले बलियो पोखरा निर्माणमा भुमिका खेल्न कालिगढहरुलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत बसन्तराज सिग्देलले नयाँ नयाँ प्रविधी, ऐन, नियम तथा कानुनहरु आइरहेको अवस्थामा निर्माणकर्मी कालिगढहरुपनि समयसापेक्ष अपडेट हुनुपर्ने बताउनु भयो । कार्यक्रममा वरिष्ठ अधिकृत ओमराज पौडेल, भुकम्प सुरक्षा तथा घर नक्शा महाशाखा प्रमुख ई.पुर्णबहादुर गुरुङ्ग, निर्माण व्यावसायी समितिका बरिष्ठ उपाध्यक्ष नारायण गुरुङ्ग, तालिमका सहजकर्ता नेत्र तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
आठ दिनसम्म चलेको अभिमुखिकरणको सैद्धान्तिक तथा प्रयोगात्मक तालिमका सहजकर्ताहरुमा बरिष्ठ ईञ्जिनियर पुर्ण बहादुर गुरुङ्ग, ई.अमिर भण्डारी, भुवनेश्वर तिमिल्सिना, ध्रुव भट्टराई, सुरेन्द्र पौडेल र नेत्र तिमिल्सिना हुनुहुन्थ्यो । कार्यक्रम अन्तर्गत जनप्रतिनीधिहरु, नागरिक समाज, टोल विकास संस्था आदीलाई एक दिन र अन्य सात दिन निर्माण कालिगढहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको एलजिसिडिपीका फोकल पर्सन सविता ढुङ्गानाले बताउनुभयो ।
निर्माण व्यावसायी समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पोखरा लेखनाथ महानगरपालिका कार्यालयका वित्त अधिकृत सविता ढुंगानाले गर्नु भएको थियो ।