ब्रह्मचर्याश्रम समिति नारायणस्थानको अध्यक्षमा रामचन्द्र पौडेल

पोखरा, १९ असार /पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ नारायणस्थान स्थित ब्रह्मचर्याश्रम समितिको तेस्रो साधारणसभा तथा अधिवेशनले आगामी ४ वर्षका लागि रामचन्द्र पौडेललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
विधानको व्यवस्था अनुसार निर्विरोध निर्वाचित सदस्यहरुमा महेश पराजुली, राधेश्याम उदास, विष्णु प्रसाद पराजुली, शान्तिदेवी पराजुली, गीता कुँवर, विष्णु कुमारी पराजुली, माधव प्रसाद बास्तोला मधु, मिता कायस्थ, हरिहर पराजुली र धर्मराज आचार्य रहेका छन् ।

अधिवक्ता सुकदेव गौतम संयोजक रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो । निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजकले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । विधान अनुसार थप २ जना सदस्य अध्यक्षद्वारा मनोनित गरी कार्यसमितिद्वारा पदविभाजन गर्ने व्यवस्था छ ।

यसअघि ब्रह्मचर्याश्रम समितिको तेस्रो साधारणसभा तथा अधिवेशनको समुद्घाटन मानव मिलन संस्थाका संस्थापक नेपाल केसरी डा.मणिभद्र मुनिजी महाराजले पानसमा दीप प्रज्ज्वलन गरी गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट आशिर्वचन दिनुहुँदै अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी प्रकाशतिर उन्मुख हुन आध्यात्मिक ज्ञानको आवश्यकता पर्ने र सोको लागि वेद, उपनिषद धर्मशास्त्रको अध्ययन अध्यापनका लागि महर्षि गुरुकुल वेदविद्याश्रमको संचालन यस ब्रह्मचर्याश्रम समितिले गरेकोमा प्रसन्नता व्यक्त गर्दै धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा यस संस्थाले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष रामजन के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा ब्राह्मण समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा.नारायणप्रसाद अधिकारी, समाजसेवी तथा राममन्दिर पार्दीका अध्यक्ष लिलाभक्त आचार्य, कवि तथा संस्थापक सचिव तेजनाथ घिमिरे, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष बेदनिधी शर्मा, वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला, वडा नं. ३ का वडासदस्य लक्ष्मी पराजुली, सल्लाहकार पुण्यप्रसाद तिमिल्सिना, शिक्षा उपसमिति संयोजक डा.भोला नारायण रेग्मी, कन्या क्याम्पस नदीपुरका क्याम्पस प्रमुख सुरेश मानन्धर लगायतले संस्थाका गतिविधि, महर्षि, गुरुकुल वेदविद्याश्रमका गतिविधि, महत्व, आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सचिव महेश पराजुलीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष विष्णु प्रसाद पराजुलीद्वारा प्रस्तुत लेखापरीक्षण सहितको आर्थिक प्रतिवेदनलाई सभाले छलफलसहित पारित गरेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन सल्लाहकार रामचन्द्र पौडेलले गरेका थिए ।  स्मरणीय छ, वि.सं.१९९७ सालमा धनकुटे आवाल ब्रह्मचारी बालकृष्ण सुवेदीले ब्रह्मचर्याश्रम स्थापना गर्नुभएको थियो ।

वि.सं.२०२१ सालसम्म महर्षि गुरुकुल संचालनमा रहेकोमा आवाल ब्रह्मचारी बालकृष्ण सुवेदीको ब्रह्मलिन पश्चात विविध कारणले गुरुकुल संचालन हुन नसकेकोमा यस समितिले वि.सं.२०६९ गुरुपूर्णिमादेखि पुनः महर्षि गुरुकुल वेदविद्याश्रम जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत लिई कक्षा ६, ७ र ८ गरी ३१ जना विद्यार्थी र ५ जना शिक्षकबाट गुरुकुल पद्धति अनुसार अध्ययन अध्यापनको कार्य भइरहेको सचिव महेश पराजुलीले जानकारी दिए । महर्षि फाउण्डेशनले मासिक रुपमा यस गुरुकुललाई रु.५५ हजार सहयोग र एकजना शिक्षक फाउण्डेशनको आफ्नै खर्चमा प्रदान गरिरहेको छ । साथै जिल्ला शिक्षा कार्यालय कास्कीबाट यस गुरुकुललाई एकजना शिक्षकको दरबन्दी प्राप्त भएको छ ।

कमेन्टहरु
Loading...