पुनरावेदनका मुख्य न्यायधीश चालिसे अवकाश

पोखरा, २७ असार ः पुनरावेदन अदालत पोखराका मुख्य न्यायधीश माधवप्रसाद चालिसेले मंगलबारबाट अवकाश पाएका छन् । न्यायधीश चालिसे ६३ वर्ष उमेरहदका कारण अवकाश पाएका हुन् । सर्वोच्च अदालतमा न्यायधीशको पद खाली रहेकै बेला न्यायपरिषद्ले निर्णय गर्न ढिलाई गरेका कारण उनी सर्वोच्च प्रवेशबाट भने वञ्चित भएका छन् ।

उनी २०६८ सालमा पुनारवेदन अदालतको उत्कृष्ठ न्यायधीशको रुपमा पुरस्कृत भएका थिए । उनीसंग जिल्ला न्यायधीश जगतप्रसाद श्रेष्ठ पनि पुरस्कृत भएका थिए । २०२४ साल चैतमा बहिदारबाट जागिर प्रवेश गरेका चालिसे जिल्ला न्यायधीश २०४८ कात्तिकमा जिल्ला न्यायधीशमा नियुक्त भएका थिए । २०६२ चैत १० मा उनी पुनरावेदन अदालतको न्यायधीशमा बढुवा भएका थिए ।

पुनरावेदन पोखराका मुख्य न्यायधीश हरेराम कोइरालाको अवकाशपछि २०६९ पुस २७ बाट उनी सोही अदालतको मुख्य न्यायधीश भएका थिए । २०६८ साउनबाट उनी पुनरावेदन पोखरामा कार्यरत थिए । न्यायसेवामा एक निश्पक्ष र मेहनती न्यायधीशको रुपमा पाएको अधिवक्ताहरुले बताएका छन् ।

पुनरावेदन अदालत पोखराका अतिरिक्त न्यायधीश राजकुमार वन स्थायी नियुक्त भएर तालिमका गएका कारण अब दुई जना न्यायधीशले काम गरिरहेका छन् । अहिले पुनरावेदन पोखरामा विश्वम्भर प्रसाद श्रेष्ठ र डिल्लीराज आचार्य कार्यरत छन् । अवकाशको बेला नजिकिएपछि उनी एक साताअघि नै बिदामा बसेका थिए ।

उनलाई एक साता अघि नै औपचारिक रुपमा बिदाइ गरिएको पुनरावेदन अदालत पोखराका रजिस्टार नातिबाबु लामिछानेले बताए । लामिछानेका अनुसार, न्यायधीश चालिसेको पालामा कार्यालयमा निकै सुधार भएको छ । जनतालाई न्याय दिनका लागि बिलम्ब नगर्ने र निकै सरल स्वभावको ब्यक्ति भएको भन्दै लामिछानेले भने, उहाँले जहिले पनि हामीलाई असल कामको लागि हौसला दिनुहुन्थ्यो । चालिसेकै पहलमा फैसला भएकै दिनमा पूर्णपाठ उपलब्ध गराउन आफूहरु सफल भएको उनले बताए । अतिरिक्त समय काम गर्नेलाई ५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने निर्णय भएपछि कर्मचारीहरुमा उत्साह बढेको उनले जानकारी दिए ।

 

 

 

कमेन्टहरु
Loading...