पोखरा, १९ कात्तिक/राष्ट्रपति मुखर्जीको सुरक्षाका कारण सडक खाली गर्नुपर्ने भन्दै पौने ४ घण्टा पोखराका विभिन्न क्षेत्रमा सवारी चलाउन निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विहीबार एक सूचना जारी गर्दै सो समयअवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरेको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीका अनुसार शुक्रबार दिउँसो पौने एक बजेदेखि साढे चार बजेसम्म बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, चाइनापुल र बुद्धचोक आसपासका सडकमार्गमा सार्वजनिक तथा निजी सवारी चलाउन निषेध गरिएको हो । सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय भएकाले पूर्ण परिपालना गरी सहयोग गरिदिन आम पोखरेली तथा यात्रुहरुलाई उनले आग्रह गरेका छन् ।
पूर्व लेखनाथबाट आइ पर्वततर्फ जान अमरसिंहचोकबाट हस्पिटलचोक निस्केर रानीपौवा, महेन्द्रपुल, सिद्धार्थचोक हुँदै भूपी शेरचन राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यस्तै, पूर्वबाट आइ स्याङ्जातर्फ जान अमरसिंहबाट महेन्द्रपुल निस्केर न्यूरोड, सभागृहचोक, सृजनाचोक, राष्ट्रबैंकचोक, बिरौटा निस्केर सिद्धार्थ राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।