पोखरा, २६ भदौ /विश्व प्राथमिक उपचार दिवसको अवसरमा पोखरामा आयोजित प्राथमिक उपचार प्रतियोगितामा पोखरा–९, उपशाखा प्रथम भएको छ । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाले आयोजना गरेको सो प्रतियोगितामा ढिकुरपोखरी उपशाखा द्धितीय, पोखरा–४ उपशाखा तृतीय र पोखरा–१०,११ उपशाखा सान्त्वना हुन सफल भयो ।
सो अवसरमा हाजिरीजवाफ, रिले प्राथमिक उपचार र सिमुलेसन प्राथमिक उपचार आयोजना गरिएको रेडक्रस कास्कीका सदस्य एवम् प्राथमिक उपचार समितिका संयोजक सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः तीन हजार, दुई हजार, एक हजार पाँच सय र नौ सय रुपैया र प्रमाणपत्र कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले प्रदान गर्नुभयो ।

दिवसकै अवसरमा सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीहरुलाई विद्यालयस्तरीय प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । तालिममा रक्तश्राव, क्षोभ, हाड भचाई र मर्काइ, बेहोसी, मुर्छा, पोलाई, दुःखाई, प्राथमिक उपचारको उदेश्य लगायतको विषयमा सहजिकरण गरिएको थियो । तालिमको सहजिकरण मित्रलाल सुवेदी, हरि पौडेल र श्रीराम तिमील्सीनाले गर्नुभएको थियो ।
रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्कीका सदस्य एवम् प्राथमिक उपचार समितिका संयोजक सुर्यप्रसाद ढकाल, २,३ उपशाखाका सभापति खगेन्द्र पराजुली, शाखाका उपनिर्देशक खेमराज सापकोटा, सहभागिको तर्फबाट कलावती तिमील्सीना लगायतले बोल्नुभएको थियो । यस वर्ष बालबालिकाका लागि र बालबालिकाद्धारा प्राथमिक उपचार भन्ने मुल नाराका साथ विश्व प्राथमिक उपचार दिवस मनाइएको हो । प्रत्येक वर्ष सेप्टेम्बर १० तारिखमा यो दिवस मनाईदै आएको छ ।